एमालेमा केपी ओली र विद्या भण्डारीको नाममा द्वन्द्व हुँदैनः महेश बस्नेत (भिडिओसहित)


काठमाडौं, १८ वैशाख । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टीभित्र केपी ओली र विद्या भण्डारीको नाममा द्वन्द्व नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता बस्नेतले एमालेको भावी अध्यक्ष पनि ओली आफैं वा उनले चाहेको व्यक्ति हुने बताए । ओली नेपालको समकालीन राजनीतिमा हाइट र लाइट दुवै भएको व्यक्ति रहेको बताउँदै नेता बस्नेतले आफू उनको फ्यान रहेको बताए ।

‘एमालेभित्र केपी ओली र विद्या भण्डारीको नाममा द्वन्द्व हुँदैन । म त केपी ओली अथवा केपी ओलीले चाहेको मान्छे भन्ने लाइनमा हो । म चाहीँ केपी ओलीको राष्ट्रियता, समृद्धि, विकास, कार्यकर्ता संरक्षण, जनतालाई माया गर्ने, अभिभावकीय भूमिका खेल्ने क्षमता समकालीन राजनीतिमा त्यो खालको हाइट र लाइट भएको नेता भएकाले म चाहीँ केपी ओलीको फ्यान हो,’– उनले भने ।

साथै, फरक प्रसंगमा नेता बस्नेतले रेशम चौधरीलाई जेल पठाएर मानवअधिकारको गम्भीर उल्लङ्घन भएको बताए । सर्वोच्च अदालतका एक कर्मचारीको गल्तीले चौधरी ५ घण्टा जेल बस्नुपर्ने अवस्था आउनु आफूलाई चिन्ता लागेको उनले बताए । ‘रेशम चौधरीलाई जेल हामीले हालेनको होइन । निकालेको पनि होइन । सर्वोच्च अदालतजस्तो संवेदनशील ठाउँको कर्मचारीले मिस्टेक गरेर रेशम चौधरी ५ घण्टा जेल बस्ने वातावरण बन्यो । त्यो घटनाबाट म दुःखी छु । यो गम्भीर मानवअधिकार उल्लङ्घनको घटना हो । सम्बन्धित मान्छेलाई कारबाहीको प्रक्रिया अगाडि बढेको भन्ने सुनेको छु । त्यो राम्रो हो,’– उनले भने ।