रेशम चौधरीविरुद्ध राज्यसत्ता नै लाग्योः दिनानाथ शर्मा (भिडिओसहित)


काठमाडौं, १८ वैशाख । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको विरुद्धमा राज्यसत्ता नै लागेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अदालतको एउटा कर्मचारीले विवेक गुमाएकै आधारमा यति ठूलो घटना हुन नसक्ने बताएका हुन् ।

‘कुनै पनि अफिसमा काम गर्ने तल्लो तहको अधिकृतले माथिल्लो निर्देशन नभइ पत्र लेख्न सक्दैन । अदालतको कर्मचारीले माथिल्लो निर्देशनविना लेख्न सक्दैन । दोस्रो कुरा प्रहरी निर्देशन मान्ने अनुशासित संस्था हो । उसले माथिल्लो निर्देशनविना काम गर्न सक्दैन । रेशम चौधरी सामान्य नागरिक होइन । अहिले सत्तालाई समर्थन गर्ने पार्टीको एक जना नेता हो । त्यो नेतालाई पक्रिनको लागि माथिको आदेश, गृहको आदेश नभइ प्रहरी एक्लै गएर पक्रिँदैन । पक्री भनेर माथिको निर्देशन छ । यो गम्भीर विषय हो । रेशम चौधरीविरुद्ध राज्यसत्ता नै लागेको हो कि भन्ने छ । छानविन त कति हुन्छ, हुँदैन राज्यसत्ता लागिसकेपछि । तर, मलाई प्रहरीले विवेक गुमाएर, चिठी लेख्ने कर्मचारीले विवेक गुमाएर पक्रिएको भन्ने लागेन । मेरो चित्तले मान्दै मानेन,’– सचिव शर्माले भने ।

टीकापुर घटनासँग सम्बन्धित विचाराधीन मुद्दामा सर्वोच्च प्रशासनबाट जारी भएको एक पत्रको आधारमा प्रहरीले हिजो रेशमलाई पक्राउ गरेको थियो । रेशम पक्राउ परेको केही समयपछि उक्त पत्रबारे प्रश्न उठेको थियो । अन्नतः सर्वोच्च प्रशासनले डिल्लीबजार कारागारलाई पत्र लेख्दै यसअघिको पत्र आधिकारिक नरहेको र रेशम पक्राउ परेको भए उनलाई तुरुन्त रिहा गरिदिन भनेको थियो । सर्वोच्चको दोस्रो पत्र आएसँगै ५ घण्टा जेल बसेर रेशम छुटेका थिए ।

साथै, फरक प्रसंगमा उनले शिक्षा क्षेत्रको समस्या समाधान हुनेगरी शिक्षा ऐन जारी हुनुपर्ने बताए । आफूले शिक्षकहरुको समस्या नजिकबाट नियालिरहेको बताए । देशको शिक्षा व्यवस्था अनियन्त्रित र अव्यवस्थित रहेको उनले बताए । सचिव शर्माले नालायक मान्छेहरु नीति निर्माण गर्ने ठाउँमा पुर्याइनु र अति राजनीतीकरणको कारण शिक्षा क्षेत्रमा समस्या आइरहेको बताए ।