असार १५ सम्म शिक्षा ऐन आएन भने अझ कडा आन्दोलन छेड्छौंः विर्खबहादुर मल्ल (भिडिओसहित)


काठमाडौं, १८ वैशाख । नेपाल शिक्षक महासंघका सचिव बिर्खबहादुर मल्लले सरकारले शिक्षकहरुको कुरा सुन्न अत्यन्त ढिलाइ र बेवास्ता गरेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शिक्षकहरुको मागप्रति सरकार उदार हुन नसकेको बताएका हुन् । सचिव मल्लले विद्यालय लामो समयदेखि बन्द रहेको अवस्थालाई मनन गरेर शिक्षकहरुले अहिलेको आन्दोलन स्थगित गरेको बताए ।

विगतमा भएका सहमतिहरु कार्यान्वयन गरी आगामी असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सरकारको प्रतिवद्धता रहेको उनले बताए । सरकारले दिएको समवभित्र शिक्षा ऐन जारी नभएको खण्डमा अहिलेको भन्दा कडा आन्दोलन छोड्ने उनको चेतावनी छ ।

‘हामी ‘वीन–वीन’ को स्थितिमा अगाडि बढेका छौं । त्यो बेलासम्म पनि हाम्रो खबरदारी रहने छ । असार १५ गतेसम्म पनि ऐन आउन सकेन भने अहिलेको भन्दा कडा आन्दोलन गर्नेसमेत हामीले जानकारी गराएका छौं । अहिले हामीले सहमतिमा यो आन्दोलनलाई स्थगित गराएका छौं,’– उनले भने ।

महासंघको आह्वानमा शिक्षकहरु गत चैत २० गतेदेखि वैशाख १६ गतेसम्म २९ दिन आन्दोलनमा होमिएका थिए । देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुँदा सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । आजदेखि आन्दोलन स्थगित गरेर शिक्षकहरु कार्यक्षेत्रमा फर्किएका छन् ।