काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेपाली नागरिकता नै खारेज गरिनुपर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको आन्तरिक मामलामा भारतमा गएर बोलेको भन्दै भट्टराईको नागरिकता खारेज गरिनुपर्ने बताएका हुन् ।
‘बाबुरामको त नागरिकता खारेज गर्नुपर्छ । हेर्नुस् किन भन्नु न ? आफ्नै देशभित्र भएका कमीकमजोरी हामी समीक्षा गर्न सक्छौं । तर, राजनाथ सिंह (भारतीय रक्षामन्त्री) रक्षामन्त्री कहाँ गएर यो आन्दोलन ओलीविरोधी हो, लोकतन्त्र विरोधी होइन । हाम्रो आन्तरिक कुरा बाहिर भन्नु जरुरी छैन नि,’– उनले भने ।
नेता भट्टराईले भारतको भात खाएको कारण संविधान जारी गर्ने बेलामा तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर नेपाल आएको उनले दाबी छ । भारतले संविधान जारी गर्न नदिएर सिक्किमलाई आफ्नो देशमा गाबेको उनको दाबी छ । नेता शाहीले नेपालको आन्तरिक मामलामा कसैले बोल्छ भने त्यस्तो व्यक्तिको नागरिकता खारेज हुनुपर्ने उनले बताए ।
‘हिजो पनि उहाँले जेएनयूमा भात खानुभयो र यहाँ जयशंकर आउनु भयो । सिक्किममा पनि संविधानसभाको निहुँले सिक्किम विलय गर्न सकेको थियो । जयशंकर यहाँ आएको भनेको त्यसै आउनु भएको होइन । संविधान घोषणा नगर, तिमी संविधान घोषणा गर्न सक्ने देश पनि होइनौं । तिम्रो देश हामी कोल्याप्स गर्छौं भनेको हो । हिजो दिल्ली, जेएनयू र नोयाडामा भात खानाले यहाँ जयशंकर आउनुभयो । फेरि नबोलाएको ठाउँमा गएर हाम्रो आन्तरिक मामला बाहिर कसैले बोल्छ भने त्यस्ता मान्छेको नागरिकता खारेज गर्नेगरी कानून बनाउनुपर्छ,’– उनले भने ।




प्रतिक्रिया