काठमाण्डौं, १९ वैशाख । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटेका छन् । दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो ।
भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सदभाव नरहेको बताएको जानकारी पुनले दिए । ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सदभाव र छैन’, चौथाईवालेको भनाइ उद्धृत गर्दै पुनले भने ।
यस्तै भारतको जम्मू–कश्मीर क्षेत्रस्थित पलगाममा गत ९ वैशाखमा भएको हमलाप्रति नेपाल सरकार, नेपालका राजनीतिक दल तथा नागरिक तवरबाट निन्दा भएकोप्रति चौथाईवालेले खुसी व्यक्त गरेको पुनले बताए । उक्त आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान नगएको थियो । ‘आतंकवादविरुद्ध नेपालले जनाएको ऐक्यबद्धताप्रति सराहना गर्न चाहन्छु’, चौथाइवालेले पुनसँग भनेका थिए ।
चौथाइवालेसँग माओवादी केन्द्र र भाजपाबीचको सम्बन्धबारे पनि कुराकानी भएको जानकारी पुनले दिए । आफूहरुले दुई दलबीच विगतदेखिकै भाइचारा सम्बन्ध आगामी दिनमा थप सुदृढ भएर जाने विश्वास आपसमा व्यक्त गरेको उनको भनाइ थियो ।
त्यस क्रममा चौथाइवालेले नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले खेलेको भूमिकाको पनि प्रशंसा गरेको पुनले उल्लेख गरे । भ्रमण सकाएर चौथाईवाले आजै दिल्ली फर्कंदैछन् ।




प्रतिक्रिया