जिपी कोइराला उपचार केन्द्रमा ‘हेमोडायलासिस’ सेवा सुरु


तनहुँ, १९ वैशाख । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौलाका बिरामीको उपचारका लागि ‘हेमोडायलासिस’ सेवा आजदेखि सुरु भएको छ ।

यसअघि डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएपछि सेवा प्रवाह सुरु गरिएको केन्द्रका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सेवा सञ्चालनका लागि सातवटा मेसिन जडान गरिएका छन् । सेवा लिनका लागि ३० जना बिरामीले यसअघि नै नाम दर्ता गराइसकेका छन् । डा श्रेष्ठले विभागबाट अनुगमन तथा निरीक्षणपछि नियमित सेवा सञ्चालनका लागि स्वीकृति पाएको बताए । यहाँ सेवा सञ्चालनका लागि लायन्स क्लब अफ खैरेनीटार, म्याग्दे र लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सलगायत संस्थाले सहयोग गरेका पनि उनले जानकारी दिए ।

यो सेवा सञ्चालन भएपछि तनहुँका साथै स्याङ्जा, कास्की, लमजुङ, नवलपुरलगायत जिल्लाका बिरामीले डायलासिस सेवा लिन सहज हुने लायन्स हेमोडायलासिस सेन्टर आयोजनाका संयोजक सुजित हिराचनले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिहीबार हेमोडायलासिस युनिटको उद्घाटन गरेसँगै सेवा सुरु भएको हो । रासस