काठमाडौं, १९ वैशाख । सरकारले ढुवानीमा लागत घटाउन रेल तथा जल यातायात परियोजना पूर्वाधार विकास गर्ने नीति लिएको छ । आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रेल तथा जल यातायात विकास गरी ढुवानी लगात घटाइने बताए ।
त्यस्तै, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य अनुगमन र गुणतस्तर नियन्त्रणमा जोड दिइने, खाद्य सम्प्रभुता सुनिश्चित गर्न राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा आवश्यक परिणाममा खाद्यन्न भण्डारण गरिने सरकारको नीति रहेको छ ।
रैथाने बालीको उत्पादन र बजारीकरणलाई स्थानीय तहसँगको समन्वयमा प्रवर्धन गरिने, अन्तरदेशिय पेट्रोलियम पाइपलाइन र भण्डारणको क्षमता बढाइनेलगायतका नीति सरकारको रहेको छ । सरकारले कालोबजारी, कार्टेलिङ, सिन्डिकेटको नियन्त्रण गरिने, बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाइने पनि नीति लिएको छ ।
त्यस्तै, योगा ध्यानमार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आयोग्य र ध्यान पर्यटनको आकर्षक रुपमा प्रवर्धन गरिने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।




प्रतिक्रिया