त्रिवेणी (रुकुम पश्चिम), १९ वैशाख । रुकुम पश्चिममा चैत महिनादेखि हालसम्म २३३ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको छ । चैतको पहिलो सातादेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा लगाएको अफिमखेती प्रहरीले नष्ट गरेको हो ।
आठबिसकोट नगरपालिका–१ मा ४०, वडा नं २ मा २३ र वडा नं ३ मा ५० रोपनीमा लागाएको लागुऔषध अफिमखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए । त्यस्तै वडा नं ५ मा १८, वडा नं ७ मा २६, वडा नं १२ मा ६, सानीभेरी गाउँपालिका–६ र बाँफीकोट गाउँपालिका–५ मा ३५÷३५ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको उनले बताए ।
जङ्गलको बीचमा अफिमखेती गर्ने गरेकाले खेती गर्ने व्यक्तिको पहिचान गर्न तथा कारबाहीको दायरमा ल्याउन नसकिएको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया