नेपाल एयरलाइन्सको बहुमत शेयर निजी क्षेत्रलाई दिनुपर्छः कांग्रेस प्रवक्ता महत


काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेस प्रवक्ता प्रशशरण महतले नेपाल एयरलाइन्सको बहुमत शेयर निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग सरकारको नीति तथा कार्यक्रमबारे कुरा गर्दै अब नेपाल एयरलाइन्सको पुनर्संरचनाले मात्रै नपुग्ने बताएका हुन् । उनले निजी क्षेत्रलाई बहुमत शेयर दिनेतर्फ आगामी दिनमा सरकार प्रस्तुत हुनुपर्ने बताए ।

‘नेपाल एयरलाइन्सको पुनर्संरचनाको कुरा गरिएको छ । अब पुनर्संरचना भनेरमात्रै पुग्दैन । यसलाई अब बहुमत शेयर निजी क्षेत्रलाई दिनेमै जानुपर्छ । भोलिको दिनमा त्यो किसिमबाट सरकार प्रस्तुत हुन जरुरी छ भन्ने मलाई लाग्छ,’– सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले भने ।

त्यस्तै, विगतका वर्षहरुमा पनि धेरै कुराहरु गरिनेछ भनेर गर्न नसकिएको बताउँदै उनले अब कार्यान्वयनमा आमूल परिर्वनको खाँचो रहेको बताए । उनले नीति तथा कार्यक्रममा उत्पादनको क्षेत्रमा मात्रै सहयोग गर्ने कुरा आउनु पर्नेमा त्यो नआएको, शिक्षामा सुधारका कुराहरुमो विद्यालय मर्जर गरेर लागत घटाउने कुराहरु, शिक्षकहरुको सुविधा बढाउने कुराहरुमा ध्यान दिन नसकिएको बताए । अरु क्षेत्रबाट लागत घटाएर शिक्षाको गुणस्तरलाई बढाउनेतर्फ पनि गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

त्यस्तै, अर्थतन्त्रलाई चलायमान बनाउने र कार्यक्रमहरुको प्राथामिकीकरण गर्ने कुरामा अझ जोड दिइनुपर्ने उनले बताए । सडक, सिचाईँ, खानेपानीलगातका क्षेत्रमा ठोस ढंगबाट नीति तथा कार्यक्रम आउन जरुरी रहेको उनको धारणा थियो । अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रमभन्दा एक स्टेप अगाडि बढेर ल्याउन सकिने ठाउँ रहेको उनले बताए ।

‘सुझाव समेटिएकै छैन भन्ने कुरा छैन । धेरै कुरा समेटिएकै छ । तर, यो भन्दा अझ बोल्ड, अझ शाहसिक किसिमबाट, अहिले नचाहिने एजेन्सीहरु हटाउने कुरा गरिएको छ । त्यो राम्रो छ । तर, व्यवहारमा कति कार्यान्वयन गर्न सक्छौं ? त्यो कार्यान्वयनको बेलामा, बजेटको बेलामा, बजेटको बेलामा हामीले हेर्ने कुरा छ । त्यसो हुनाले यसमा धेरै कुराहरु आएका पनि छन् । तर, कतिपय कुराहरुमा यो भन्दा अझ एक स्टेप अगाडि बढ्न सकिन्छ,’– उनले भने । File Photo/RN