काठमाडौं, १९ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले समग्रमा सरकारको नीति आएपनि कार्यक्रम भने आउन नसकेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा कार्यक्रम नै समावेश नगरिएको टिप्पणी गरेका हुन् ।
सरकारले कार्यक्रम नराखेर भोलि आफू अनुकूल बजेट बनाउन खोजेको हुनसक्ने उनको आशंका रहेको छ । नेता सापकोटाले यस्तो प्रकारको नीति तथा कार्यक्रममा सरकारले गलत नियत राखेको खण्डमा सत्ता पक्षकै पहुँच नपुग्ने कार्यक्रमहरु अलपत्र पर्ने सम्भावना रहेको बताए ।
‘समग्रमा नीति छ । कार्यक्रम आएन । शीर्षक नै नीति तथा कार्यक्रम हो । अब सरकारको नियत ठीकै भयो भने त त्यसले ठीकै पनि गर्ला । सरकारले नियत गलत राख्यो भने चाहीँ भोलि कार्यक्रम आफू अनुकूल बनाउने, सत्तापक्षभित्रै पनि पहुँच नपुगेका कार्यक्रमहरु सम्बोधन नहुने खतरा छ । किनभने नीति राखिएको छ । कतिपय ठाउँमा स्रोत व्यवस्थापन गर्दा रुग्न भएका कतिपय परियोजना खारेज गर्ने, बजेट रोक्का गर्नेजस्ता प्रस्तावहरु नीतिमा आएको छ,’– उनले भने ।
बढ्दो बेरोजगारीको समस्या समाधान गर्न र रोजगारको क्षेत्रमा रचनात्मक र नवीन कार्यक्रमहरुलाई समावेश गर्नेगरी नीति तथा कार्यक्रम आउन नसकेको नउको टिप्पणी छ ।




प्रतिक्रिया