सरकारले अस्पष्ट, गन्तव्यहीन र अल्छी नीति तथा कार्यक्रम ल्याएर बदमासी गर्याे: माओवादी नेता सापकोटा (भिडिओसहित)


काठमाडौं, २० वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले वर्तमान सरकारले सबैभन्दा धेरै बदमासी सुशासनको क्षेत्रमा गरेको आरोप लगाएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले नीति तथा कार्यक्रममा सुशासनको क्षेत्रमा सम्बोधन गर्न नसकेको बताए । उनले सरकारले कार्यक्रम नल्याएर नीतिमात्रै ल्याएको बताए । जनतामा देखिएको गुनासो, असन्तुष्टि र निराशालाई सम्बोधन गर्नेगरी कार्यक्रम आउनुपर्नेमा त्यसो नभएको उनले बताए ।

‘नामै नीति तथा कार्यक्रम छ । सरकारको तर्फबाट सम्माननिय राष्ट्रपतिज्यूले प्रस्तुत गर्नुभयो । नीतिमा कुनै मौलिकता, रचनात्मकता र सिर्जनात्मकता देखिएन । कतिपय कुराहरु विगतकै कपी पेस्ट गरिएको छ । आजको आवश्यकता भनेको मुलुकमा निराशा, असन्तुष्टि र गुनासोहरु छन् । त्यसलाई सम्बोधन गर्ने र आशावादी बनाउने हिसाबले आउनुपर्थ्यो । त्यो दिशातिर सरकारले मेहनत गरेको देखिएन । अर्कोतिर सरकारले कार्यक्रम त बनाएकै छैन । कतिपय झारा टारेर नीतिको कपी पेस्ट गरेको जस्तो देखिन्छ । नीतिका आधारमा कार्यक्रमलाई समृद्ध बनाउनुपर्ने, कार्यक्रम त छैन,’– उनले भने ।

साथै, अस्पष्ट नीति तथा कार्यक्रम ल्याएर सरकारले भोलिको लागि बद्मासीबो बाटो बनाइरहेको उनको आरोप छ । नेता सापकोटाले अस्पष्ट, गन्तव्यहीन र अल्छी पारामा नीति तथा कार्यक्रम ल्याइएको बताए ।

‘सरकारले अर्को बदमासी के गरेको छ भने आफू अनुकूल भोलि काम गर्नको निम्ति बाटो र वातावरण बनाइरहेको छ । नीति अस्पष्ट, गन्तव्यहीन र अल्छी पाराले बनाइएको देखिन्छ । कार्यक्रम त छदै छैन । अपुरो नीति र कार्यक्रम नभएको यस्तो प्रकृतिको नीति तथा कार्यक्रम देखियो,’– उनले भने । File Photo/RN