काठमाडौं, २० वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पहिचानवादीहरुलाई गोष्ठीमा सहभागी हुन आह्वान गरेका छन् । पार्टीले सुनसरीको धरानमा शनिबार गर्न लागेको कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा सहभागी भएर पहिचानको आन्दोलनप्रति ऐक्यबद्धता र सक्रिया सहभागिता जनाउन बस्नेतले सबै पहिचान पक्षधरहरुमा आग्रह गरेका छन् ।
‘मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर सङ्घर्षरत छ । पहिचानको राजनीतिले जाति÷समुदायबीचको विभेद, उत्पीडन, असमानतालाई न्यायोचित रुपमा हल गर्न सहयोग गर्दछ’ भन्ने विषयमाथि प्रकाश पार्न गोष्ठीको आयोजना गरिएको बस्नेतले बताए ।
‘बहुजातीय देशहरुमा राजनीतिक, आर्थिक स्वतन्त्रताले मात्र समुहगत विभेद अन्त्य हुन नसक्ने भन्दै सामाजिक, सांस्कृतिक स्वतन्त्रता पनि मानवीय मूक्तिका लागि आवश्यक छ भन्ने चिन्तन नै पहिचानको राजनीतिको चिन्तन रहेको उनको भनाइ छ ।
जसपा नेपालले आयोजना गरेको उक्त गोष्ठीका वक्ताहरुमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु हुने बताइएको छ ।




प्रतिक्रिया