एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू निःस्वार्थ भावनाका साथ एकतामा जुट्नुस्ः परराष्ट्रमन्त्री डा.राणा


काठमाडौँ, २० वैशाख । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई एकजुट भई अगाडि बढ्न आग्रह गरेकी छन् । आज (शनिबार) गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उनले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गरिन् ।

‘एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू आफू आबद्ध पार्टीमा राजनीति गर्न सक्नुहुन्छ । संस्थाको पवित्र उद्देश्य पूरा गर्न निःस्वार्थ भावनाका एकताका लागि जुट्न म तपाईँहरूलाई आग्रह गर्दछु,’– उनले भनिन् ।

उनले एनआरएनको उद्देश्य पूरा गर्नका लागि एकबद्ध भई सक्रियतापूर्वक लाग्न र त्यसका लागि आफू र परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । पछिल्लो समय एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशानुसार भइरहेको एकता महाधिवेशनलाई सफल पार्न भूमिका खेल्ने सबै धन्यवादको पात्र रहेको उनले उल्लेख गरिन् ।

‘तपाईँहरूले आफूभन्दा ठूलो संस्था र संस्थाभन्दा ठूलो देश हो भन्ने भावना बोकेकै कारण अहिले एकता महाधिवेशन सम्भव भएको हो । तपाईँहरू राजनीति गरेर मन्त्री र प्रधानमन्त्री बन्ने होइन, गैरआवासीय नेपालीहरूको हितका लागि हो । त्यसैले सङ्घमा राजनीति मिसाउनु उचित होइन,’– उनले भनिन् ।

सङ्घभित्र भएका मतभेद त्यागेर एकताका साथ एनआरएनएको उद्देश्य पूरा गर्नका लागि सबै एकजुट हुनुको विकल्प नभएको उनले दोहोर्याईन् । परराष्ट्रमन्त्री डा.राणाले विदेशमा रहेर नेपालप्रति देखाएको भावना आफूले बुझेको उल्लेख गर्दै विश्वमा नेपाली संस्कृति, खाना र पहिचानलाई फैलाउन निर्वाह गरेको भूमिका सराहनीय भएको बताईन् । उनले नेपालसँग स्रोतसाधन भए पनि विश्वमा विकास भइरहेको प्रविधि, नयाँ व्यवस्थापकीय कला र पुँजीको अभाव भएकाले त्यसको पूर्ति गैरआवासीय नेपालीहरूले गर्न सक्ने उल्लेख गरिन् । गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गर्दै आर्थिक सुधारको बाटोमा सहकार्य गर्न आवश्यक रहेको मन्त्री राणाको भनाइ छ ।

परराष्ट्रमन्त्री डा राणाले परराष्ट्र मन्त्रालयले पनि नेपाली डायस्पोरालाई हेर्ने एकाइ गठन गरेको उल्लेख गर्दै त्यसबाट सहजीकरण तथा सेवा सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताईन् । ‘अहिले एनआरएन कार्डको पनि विषय चलिरहेको छ, यस विषयमा अहिले मस्यौदा बन्दै छ, मस्यौदामा धेरैभन्दा धेरै सेवा सुविधा समावेश गर्नेगरी काम भइरहेको छ,’– मन्त्री राणाले भनिन् ।