काठमाडौं, २० वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रहरले अहिलेको सरकार नढल्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेबाहेक प्रचण्डले सबै दल लिएर गएपनि सरकार नढल्ने बताएका हुन् । उनले प्रचण्डको रहर र चाहनाले सरकार तलमाथि नहुने बताए ।
‘अहिले कांग्रेस–एमालेको गठबन्धन टुट्दैन । दुई वटा दल मिलेसम्म १६७ सिट छ, १३८ भए बहुमत हुन्छ । अनि कसरी गर्ने र उहाँ (प्रचण्ड) ले जम्मैलाई लिएर गए पनि, फकाए पनि हुँदैन । सत्य यही हो नि । अनि यो भन्दा कि अर्को सत्य स्थापित हुन परेन ? रहरले त केही हुँदैन नि । हुन्छ र ? चाहनाले केही हुँदैन,’– उनले भने ।
साथै, उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने बारेमा अहिले कुनै छलफल नभएको बताए । भण्डारीले एमालेको राजनीतिमा सक्रिय हुन्छु वा अध्यक्ष बन्न आउँछु भनेको आफूले अहिलेसम्म नसुनेको उनले बताए । अहिले एमालेमा केपी शर्मा ओलीको विकल्प आफूले नदेखेको पनि उनले बताए ।
‘अहिले छलफल नै भएको छैन । अब महाधिवेशन आयो भने थाहा हुन्छ । अब उहाँले के भन्नुहुन्छ ? उहाँले भनेको कुरालाई मैले अझै गहिरिएर बुझेको छैन । उहाँले अध्यक्ष हुन आउँछु भनेको हो कि ? राजनीतिमा सक्रिय हुन्छु मात्रै भनेको हो कि ? त्यो त महाधिवेशन तोकिएपछि थाहा हुन्छ् । अहिले केपी शर्मा ओलीको विकल्प छैन,’– उनले भने ।
साथै, उनले प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका निर्वाह गर्न नसकेको बताए । अहिले कांग्रेस–एमाले सरकारमा रहेको अवस्थामा प्रचण्डले प्रतिपक्षको भूमिका निर्वाह गर्नुभन्दा पनि सरकार ढाल्ने खेलमा व्यवस्त रहेको बताए । कागजी रुपमा प्रचण्ड प्रमुख प्रतिपक्षी दलको नेता भए पनि राजनीतिक रुपमा उनले त्यो हैसियत गुमाइसकेको बताए ।
‘नेपालमा विपक्षी दल नै छैन । सात दलको सरकार छ । प्रचण्डजी सरकार खोजेर चक्र काटेको काट्यै हुनुहुन्छ । नयाँ भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आउनेबित्तिकै उपप्रधानमन्त्री र गृहमन्त्री चाहियो । उसलाई पनि सरकार नै चाहियो । नयाँ भनिने क्रान्तिबाट आउनु भएको सिके राउतलाई सरकार नै चाहियो । रेशम चौधरीलाई सरकार नै चाहियो । नेपालमा कोही प्रतिपक्षी छ । कागजी रुपले त अहिले प्रचण्डजी प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्छ । तर, राजनीतिक अर्थमा प्रतिपक्ष होइन । सबै सरकारमा । प्रतिक्षमा बस्ने माइन्डसेट नै छैन,’– उनले भने ।




प्रतिक्रिया