सरकारमा हात्तिजस्ता पार्टी छन्, काम चाहीँ मुसाले जति पनि गरेका छैनन्ः पूर्वप्रधानमन्त्री खनाल


काठमाडौं, २० वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारले कुनै काम गर्न नसकेको बताएका छन् । आज (शनिबार) पार्टीनिकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले हात्तिजस्ता दुई ठूला पार्टी (कांग्रेस–एमाले) सरकारमा रहेर मुसाले जति पनि काम गर्न नसकेको बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले अहिले देश राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपले संकटग्रस्त रहेको बताए । राष्ट्रियता संकट पर्दासमेत सरकारले चाइँचुईँ नगरेको बताए ।

‘दुईटा हात्तिजस्ता पार्टीहरु सरकारमा छन् । तर, काम चाहीँ मुसाले जस्तो पनि गर्न सकेका छैनन् । यो प्रकारको परिस्थिति छ आज । देश राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपले पनि संकटग्रत छ । राष्ट्रियता पनि संकटग्रस्त छ । देशका अनेक भागहरुमा बाहिरबाट अनेक ढंगले घोप्ने कामहरु भइरहेको छ । महाकालीको सिमानामा घोप्दैछन् । अनेक ठाउँमा यस्ता कुराहरु भइरहेका छन् । तर, यो सरकार कानमा ठेडी राखेर बसिराखेको छ । चाइँचुईँ केही गर्दैन, बरु मुसा चाईँचुईँ गर्छ । यस्तो अवस्थाबाट देश गइरहेको छ,’– उनले भने । File Photo/RN