सरकारले ल्याएको नीति तथा कार्यक्रम एकदमै राम्रो छ, लोसपाले स्वागत गरेको छः महासचिव डा.झा


काठमाडौं, २० वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रम–२०८२ को बारेमा रिपोर्टर्स क्लब नेपालले दलका नेताहरुसँग राखेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी र युवाहरुको क्षेत्रमा सरकारले अत्यन्तै राम्रो नीति र कार्यक्रम ल्याएको बताएका हुन् ।

त्यस्तै, संघीयता कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कानूनहरु यथाशीघ्र संसद्बाट पारित गर्ने सरकारको नीति एकदमै राम्रो रहेको उनले बताए । ‘संघीयतामा आवश्यक पर्ने कानूनहरु यथाशीघ्र संसद्बाट पारित गर्ने कुरा गरेको छ । यो एकदमै राम्रो हो,’– उनले भने ।

त्यसैगरी, संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउने, असङ्लग्न परराष्ट्र नीति अवलम्बन गर्नेगरी सरकारको नीति तथा कार्यक्रम आएको उनको दाबी छ । देशको सबैभन्दा ठूला दुई दल कांग्रेस र एमालेसहित मिलेर बनेको यो सरकार दीर्घकालीन योजनाको साथ अगाडि बढेको उनले बताए । उनले अब प्रादेशिक सरकारहरुलाई मजबुद बनाउनेगरी बजेट विनियोजना र कार्यान्वयन हुनुपर्ने बताए ।

‘समग्रमा नीति तथा कार्यक्रम अहिलेको आर्थिक अवस्था, देशको राजश्व संकलनको अवस्था सबैलाई केन्द्रविन्दुमा राखेर, निजी क्षेत्रसँग यथेष्ट छलफल गरेर ल्याएको हुनाले यसलाई स्वागत गर्नुपर्छ,’– उनले भने ।