अहिलेको सरकारकै कारण देशमा भ्रष्टाचार र अराजकता झनै मौलायो : प्रभु साह


भैरहवा, २० बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमालेको बलियो सरकारले काम गर्न नसकेपछि जनता निराश हुन थालेको बताएका छन् । भोलि (आईतबार) पार्टीले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न रुपन्देही पुगेका पूर्वमन्त्री साहले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सरकारको औचित्यमाथि नै प्रश्न उठाएका हुन् । उनले अहिलेको सरकार जनताप्रति जवाफदेही नभएको आरोप लगाए ।

साहले अहिले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र व्याप्त भएको र जताततै भ्रष्टाचार मौलाएको टिप्पणी गरे । उनले वर्तमान सरकारले एकपछि अर्को गरेर मुलुकलाई संकटको भूमरीमा फसाएको आरोप लगाए । देश ठूला दलका ठूला नेताको सिण्डिकेटमा फसेको पनि साहको आरोप छ ।

उनले अहिले लोकतन्त्रको नाममा देशमा लुट्ने र देश लुटेको कालो धन अवैध तरिकाले विदेशमा पु¥याउने काम भएको भन्दै अब दलाल तथा भगौडाहरुको भण्डाफोर गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले सरकारको नेतृत्व गरेको दल एमालेका नेताहरु नै सडकमा प्रदर्शनमा उत्रिन थालेको भन्दै देशमा रमिता भैरहेको टिप्पणी गरे । हालै एमालेले युथ सेलिब्रेशनको नाममा बैशाख ११ गते भृकुटीमण्डपमा प्रदर्शन कार्यक्रम गरेको थियो ।