काठमाडौं, २० वैशाख । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः माओवादी केन्द्रमा फर्किएका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष प्रचण्डले पुनर्मिलन माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदम रहेको बताए ।
काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (कीर्तिपुर–थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन्। ‘ध्रुवीकरणमा आउनु भएका मोतिरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आउनुभएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु। यो सुरुआत हो,’– प्रचण्डले भने ।
उनले पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको संकेत भएको उल्लेख गरे । ‘तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सिर्जना गर्नेछ,’– प्रचण्डले भने ।
प्रचण्डले आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले माओवादी घटकहरू विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै अहिलेको पुनर्मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।
उनले विगतमा पार्टी विभाजनका कारण आन्दोलन कमजोर भएको बताउँदै उनले भने, ‘पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन। अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ।’
प्रचण्डले नेकपा मसालको महासचिवको हैसियतमा आफूले विगतमा खेलेको एकता प्रयासलाई स्मरण गर्दै, अहिले पनि माओवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयास गरिरहेको बताए । ‘पार्टी एकता र ध्रुबीकरणको वातावरण बनाउन आधारभूत वर्गलाई विश्वासमा लिन सरकारमा रहँदा पनि हामीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा सुविचारित भूमिका खेलेको थिए,’– उनले भने ।
कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले पुनर्मिलनको यो पहल अर्थपूर्ण र बहुआयामिक भएको उल्लेख गर्दै सबैलाई एकताको यात्रामा अघि बढ्न आह्वान गरे ।











प्रतिक्रिया