असार १५ भित्र शिक्षा ऐन जारी हुने होइन, प्रतिनिधिसभाबाट पारित हुनेमात्रै होः लक्ष्मीकिशोर सुवेदी (भिडिओसहित)


काठमाडौं, २१ वैशाख । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आगामी असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधि सभाबाट मात्रै पारित हुने सहमति भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अध्यक्ष सुवेदीले असार १५ गतेभित्र उक्त विधेयक प्रतिनिधि सभाबाट मात्रै पारित हुने सहमति भएको बताएका हुन् । उनले शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि राष्ट्रिय सभामा जाने र त्यसपछिको कोर्श पूरा भएर राष्ट्रपतिले प्रमाणीकरण गर्ने उनले बताए ।

‘असार १५ गतेभित्र हामीले ऐन जारी हुन्छ, प्रमाणीकरण हुन्छ भनेको होइन । प्रतिनिधि सभाबाट त्यसलाई पारित गरिन्छ । त्यसपछि जारी हुन त्यसले राष्ट्रिय सभाको कोर्श पूरा गर्नुपर्छ र सम्माननीय राष्ट्रपतिकहाँ गएर प्रमाणीकरण हुन्छ,’– उनले भने ।

अध्यक्ष सुवेदीले यसपटकको आन्दोलनमा हाताहाती उपलब्धी प्राप्त भएको बताए । उनले सरकारले शिक्षकहरुको पक्षमा मन्त्रिपरिषद्बाट ९ बुँदे निर्णय गरेको उनले बताए । ‘हामीले ठोस उपलब्धीसहित आन्दोलनलाई समाप्त गरेका छौं । यस पटक सहमति, सम्झौता भएको छैन । हाम्रो पाटोबाट हामीले विज्ञप्ति जारी गर्यौं । नेपाल सरकार मन्त्रिपरिषद्ले एउटा ९ बुँदाको निर्णय गर्यो । संसद्को पाटोबाट माननीय सभापतिज्यू (संसदीय समिति) र प्रमुख दलका मुख्य सचेतकहरुले हस्ताक्षर गरेर ऐन जारी गर्ने प्रतिवद्धता भएको छ । अहिले हाताहाती भएको छ । कसरी भने अहिलेसम्मको कुनै पनि सहमति तुरुन्त कार्यान्वयनमा आएको छैन । अहिले मन्त्रिपरिषद्ले गर्नुपर्ने ९ बुँदा ड्राफ्ट गर्यौं । उहाँहरुले त्यो पारित गरेर आएपछि मात्रै हामीले प्रेसमिट गरेका हौं,’– उनले भने ।

आगामी असार १५ गतेभित्र प्रतिनिधि सभाबाट शिक्षा विधेयक पारित नभएको खण्डमा अहिलेको भन्दा ठूला भीमकाय आन्दोलन गर्ने उनले बताए । ‘हामी आन्दोलनमा आउँछौं । जसरी बागमतीको बाढीले पुल पुलेसो राखेन, फेरि आन्दोलन भयो भने कहाँकहाँ के–के भत्किन्छ ? को–को कहाँकहाँ पुग्छन् ठेगान रहँदैन,’– उनले भने ।