सरकारको नीति तथा कार्यक्रम कांग्रेस-एमालेको सहमतिको दस्ताबेज हो, हाम्रो कुनै विमति छैनः कांग्रेस सचेतक घिमिरे


काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले आफूहरु सरकारको नीति तथा कार्यक्रममा रचनात्मक र सकारात्मक ढंगले प्रस्तुत हुने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको नीति तथा कार्यक्रम कांग्रेस–एमालेबीच सहमति भएर आएको दस्ताबेज रहेको बताएका हुन् ।

‘कांग्रेस–एमालेसहित सत्तारुढ दलको सहमतिबाट आएको दस्ताबेज हो यो नीति तथा कार्यक्रम । त्यसले गर्दा यसमा अरु केही थप कुराहरु छन्, रचनात्मक सुझावहरुछन् भने दिन सकियो । तर, यसको पक्षमा उभिने भन्ने निर्णय भएको हो,’– उनले भने ।

साथै, उनले सरकारको नीति तथा कार्यक्रमलाई लिएर पार्टीभित्र कुनै पनि विवाद नरहेको बताए । अहिले कांग्रेस–एमालेसहितको संयुक्त सरकार रहेको स्मरण गराउँदै उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कांग्रेसले लेनदेन गर्नुलाई स्वभाविक मान्नुपर्ने बताए ।