दुई ठूला दल मिलेर बनेको सरकारले आशा जगाउने बजेट ल्याउने सम्भावना देखिएनः भवानी राणा


  • शरद रेग्मी

काठमाडौं, २१ वैशाख। नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व केन्द्रीय अध्यक्ष भवानी राणाले दुई ठूला दल मिलेर बनेको सरकारले पनि निजी क्षेत्रको आशा जगाउने गरी बजेट ल्याउने सम्भावना नदेखिएको बताएकी छन् । शनिबार तुलसीपुर उद्योग बाणिज्य संघको ३०औं साधारण सभालाई सम्बोधन गर्दै पूर्व केन्द्रीय अध्यक्ष राणाले दुई ठूला दल मिलेर बनेको सरकारले अपेक्षाअनुसार देशको अर्थतन्त्र विकास गर्न नसकेको र अब गर्ने सम्भावना पनि न्यून रहेको बताएकी हुन् । दुई ठूला दलहरु अर्थतन्त्रको विकास गर्ने भन्दापनि कुर्सी बचाउने खेलमा लाग्दा आशा गरेअनुसार आर्थिक विकास हुन नसकेको उनको भनाइ छ ।

देशको उत्पादन घटेको र बजार साँघुरिँदै गएको बताउँदै उनले यही स्थिति कायम रहे विश्व बैंकले प्रक्षपण गरेको ४.२ प्रतिसत आर्थिक बृद्धिदर पूरा हुन नसक्ने बताईन् । आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, उद्योगका साथै पछिल्लो समय विकसित आइटी क्षेत्रको विकासमा बजेटले दिनुपर्ने भएपनि नीति तथा कार्यक्रमले महत्व दिन नसकेको उनले बताईन् ।

मुलुकको समृद्धिका लागि प्राथमिकतामा ठूला आयोजनाहरुमा बजेट छुट्याउनु पर्ने भएपनि दलका नेताहरुले कार्यकर्ताका मागहरु पूरा गर्न साना–साना योजनाहरुमा छरेर बजेट आउने अवस्था देखिएको उनो भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा अपेक्षाकृत रुपमा आशा जगाउन नसकेको उनले बताईन् ।

राणाले पछिल्लो समय आइटीको राम्रो सम्भावना देखिएको र प्रत्येक प्रदेशमा आइटीसम्बन्धि विश्वविद्यालय खोल्नका लागि राज्यले बजेटमा ब्यबस्था गर्नुपर्ने सुझाव दिईन् । उनले अन्तराष्ट्रिय विमानस्थल निर्माण गरेपनि राज्यका आफ्नै ध्वजावाहक विमान नहुँदा राज्यले पर्यटन पर्बद्धनका साथै बिदेशबाट हुने उडानहरुमा घाटा बेहोर्दै आएको बताईन् ।

विदेशी बिमान अवतरण हुँदा लाग्ने करमात्रै अशुल गरे राज्य समृद्ध नहुने भन्दै उनले अन्तराष्ट्रिय विमान निर्माणपछि राज्यले आफ्नै ध्वजाबहाक विमानहरु खरिदमा ध्यान दिनुपर्ने बताईन् ।

‘देशले तत्काले आठ नौं वटा ध्वजावाहक विमान किन्न आवश्यक छ । आफ्नै ध्वजावाहक विमान नहुँदा दिल्लीबाट आउँदामात्रै ८०हजारसम्म भाडा तिर्नुपर्ने बाध्यता छ । यसरी देश कसरी उँभो लाग्छ ?’ प्रश्न गर्दै उनले भनिन् ।

मुलुकको संवृद्धिको लागि युवा पलायन रोक्न आवश्यक रहेको भन्दै उनले त्यो अनुरुपको बजेट आउने अवस्था नदेखिएको बताईन् । मुलुकको आफ्नै उत्पादन खस्किएको हुँदा त्यस्को प्रवर्धनका लागि सल्यान, रोल्पा, रकुम जस्ता ठाउँहरुमा पाइन टिमुर, अदुवा, सुन्तलाजस्ता फलफूलहरुको प्रशोधन गरी वा ल्याब परीक्षण गरी विदेश पठाउनका लागि बजेट विनियोजन गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताईन् ।

‘कुनै पनि ठाउँको बिशेष कृषी उप्पादनलाई प्रोत्साहन गर्न राज्यले स्थानीय किसानलाई अनुदान दिनुपर्ने हो । यो पालीको बजेटमा पनि त्यस्तो आशा जगाउने खालको बजेट आउने सम्भावन देखिएन,’– उनले भनिन् ।

त्यस्तै, उनले राष्ट्रको संवृद्धिको आधार महिला उद्यमशीलतामा जोड दिनु जरुरी रहेपनि त्योअनुसार हुन नसकेको बताईन् । ‘महिला उद्यमशीलताले समृद्धिमात्रै हैन महिला सशक्तीकरणमा पनि महत्वपूर्ण टेवा पुग्छ । भाषणले देश बन्दै बन्दैन । अहिले यहाँ तपाईँ पुरुषहरुले भाषण गरिरहँदा तपाईँको ब्यापार, घर,गृहस्थी र पशुचौपायालाई हेरचाहा गर्ने महिला दिदी बहिनीहरु घरमै हुनुहुन्छ र तपाँइहरु ढुक्क हुनुहुन्छ । त्यहीअनुरुप राज्यले महिला सशक्तीकरणमा बजेट छुट्याउन जरुरी छ,’– उनले भनिन् ।

निजी क्षेत्रले पर्यटन विकास, आर्थिक र सामाजिक बिकासमा महत्वपूर्ण योगदान गर्दै आएको भएपनि इतिहासमै ब्यबसायी अप्ठेरो अवस्थामा रहेको भन्दै उनले राज्यले ब्यवसायीलाई उत्साही बनाउने बजेट ल्याउन सक्नुपर्ने राणाले बताईन् । ५० प्रतिशत उत्पादन घटेको, युवा पलायन नरोकिएको र त्यसले उपभोक्ता घटेको, त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संख्या घटेको हुँदा युवा पलायन रोक्न राज्यले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

तुलसीपुर उद्योग बाणिज्य संघको साधारण सभाका वक्तहरुलाई बोल्ने विषय र समय पहिला नै निर्धारण गरिएको थियो । निजी क्षेत्र र स्थानीय सरकारबीचको सम्बन्ध नङ र मासुको सम्बन्ध कायम नहुँदासम्म कुनैपनि ठाउँको विकास तथा समृद्धि सम्भव हुन नसक्ने तुलसीपुर उपमहागनरका मेयर टीकाराम खड्काले बताए ।

निजी क्षेत्र नागरिक सरकार भएको भन्दै उनले पर्यटन, यातायात, ढल, सरसफाइ, पुल निर्माणमा स्थानीय सरकार र निजी क्षेत्रबीचमा साझेदार हुन जरुरी रहेको बताए । निजी क्षेत्र राज्यको मेरुदण्ड रहेकाले स्थानीय सरकारले निजी क्षेत्रसँग ‘पब्लिक पाटनरशीप’ मोडलमा काम गर्न तयार रहेको उनले बताए ।

त्यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको बताए । ‘नीति तथा कार्यक्रम ‘खुट्टी हेरि पत्याएँ’ भन्ने ढंगले प्रस्तुत भएको छ,’ उनले भने ‘ कोराना पछि घटेको ब्यापार उकास्न राहात लगाएका ब्यबस्था हुनुपर्नेमा त्यस्तो कुनै ब्यबस्था नगर्नुले आउने बजेटबाट कुनै उत्साह जगाउन भन्ने छैन ।’

ब्यबसायीहरुका लागि इतिहसकै कठिन काल अहिले आँफूले देखेको, साना र मझौला ब्यबसायीको अवस्था दयनीय भएको समयमा त्यो उकास्नका लागि बैंकको तरलतालाई लगानीमा लैजानु पर्नेमा नीति तथा कार्यक्रममा त्यस्को कुनै ब्यबस्था नगरिएको भन्दै आलोचना गरेका थिए । ‘निजी क्षेत्रलाई चलायमान बनाउने बजेट आएन,’ उनले भने ‘यसले ठूलो लगानी बिदेशीले जोखिम बढाएको छ ।’

सो अवसरमा तुलसीपुर उधोग वाणिज्य संघका अध्यक्ष विनील केसीले पछिल्लो समय महासंघमा जिल्ला नगरको भुमिका कमजोर हुदै गएको भन्दै चिन्ता ब्यक्त गरे । सरकारसँगडाईलग गर्न सक्ने नेतृत्व नहुदा मोफसलका ब्यबसायीहरुमा दिनहुँ निराशा पैदा भएको बताए । उनले दिनहुँ पलायन हुदै गएका ब्यबसायीहरुलाई स्वदेशमै रोजगारीको अबसर प्राप्त गर्ने वातावरण मिलाउन आगामि बजेटले निर्धारण गर्ने बताए । अध्यक्ष केसीले तुलसीपुरमा ब्यबसायिक वातावरण बनाउन ‘ सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियान सुरु गरेको बताए ।