पोखरा विमानस्थलको प्रतिवेदनबारे केही नेताहरुले भ्रष्टाचारीको पक्षपोषण गरेको प्रेम आलेको आरोप, ठूलो भ्रष्टाचार भएको दाबी


काठमाडौं, २१ वैशाख । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारबारे भएको अनुसन्धान प्रतिवेदनमा सार्वजनिक लेखा समितिले प्रश्न उठाएको भन्दै आपत्ति जनाएका छन् । नेता आलेले आफूहरुले ९÷९ महिना मेहनत गरेर ल्याएको पोखरा विमानस्थल बारेको प्रतिवेदनबारे केही नेताहरुले भ्रष्टाचारीको पक्षपोषण गर्नेगरी मिडियाहरुमा गएर बोलेको समेत उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार भएको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमाथि सार्वजनिक लेखा समितिले नै अविश्वास गरेको भन्दै नेता आलेले आपत्ति जनाए । नेता आलेले १४ अर्बको उक्त ठेक्का सार्वजनिक खरिद ऐनविपरीत २२ अर्ब पुर्याइको बताए ।

‘कतिपय मिडियामा गएर साथीहरुले भ्रष्टाचारीको पक्षपोषण गरेका छन् । त्यो कुराको पनि त विचार गर्नुपर्यो नि त माननीय सभापतिज्यू । हामीले ९÷९ महिनासम्म यत्रो मेहनत गरेर प्रतवेदन बनाएका छौं । धन्यवाद त कहाँ छ, कहाँ छ ? उल्टो शंका गर्ने ? यहाँ म भन्न चाहन्छु– १४ अर्बको ठेक्कालाई सिधै २२ अर्ब पुर्याइएको छ । सिधै ८ अर्ब भ्रष्टाचार भयो कि भएन ? यो सार्वजनिक खरिद ऐनविपरीत भयो कि भएन ?’ प्रश्न गर्दै उनले भने । File Photo/RN