काठमाडौं, २१ वैशाख । धादिङको गजुरी पाउँपालिका-२ का ६० वर्षीय चुडामणि कँडेललाई कर्तव्य गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका– ९ का अक्कलबहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल मुक्तान रहेका छन् । गत चैत २७ गते आफ्नै घरको भुँईतलाको कोठाभित्र रहेको एटेच ट्वाईलेट बाथरुमभित्रको भुँईमा घाँटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव फेला परेको थियो ।
प्रहरीका अनुसार कँडेलले अक्कलबहादुर प्रजालाई आफ्नै श्रीमती सुस्मिता सिलवाल मार्नका लागि ४ लाख रुपैयाँ दिएका थिए । श्रीमती सुस्मितासँग लामो समयदेखि सम्बन्ध बिग्रिएको अवस्थामा उनलाई मार्न चूडामणिले उनीहरुलाई चार लाख ‘सुपारी’ दिएका थिए । अक्कलबहादुरलगायतले सुस्मिताको हत्या गर्ने पटक–पटक प्रयास गरेपनि उनीहरु सफल हुन नसकिरहेको अवस्थामा चुडामणिले पैसा फिर्ता गर्न दवाब दिएपछि उक्त घटना हुन पुगेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।
धेरै नै दवाबमा परेपछि अक्कलबहादुर लगायतले श्रीमती मार्नका लागि ‘सुपारी’ दिने चुडामणिको नै हत्या गरेको बताइएको छ । प्रहरीले मृतकको घाँटीमा कसेको डोरी, वारदातमा प्रयोग भएको कोदालो, अक्कल बहादुर प्रजाको कोठाबाट एक लाख पैसा, मृतकको फोन फुटाएर फालिएको टुक्रालगायतका दशीहरु बरामद गरेको छ ।




प्रतिक्रिया