काठमाडौं, २१ वैशाख । राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै बाहिरिएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएको छ । भक्तपुरको एक विद्यालयमा परीक्षा सुरु हुन अगावै प्रश्न पत्र बाहिरिएको बताइएको थियो । तर, जिल्ला परीक्षा समन्वय समिति भक्तपुरका पदाधिकारी एवं जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।
आजको परीक्षा देशैभर परीक्षालाई मर्यादित र शान्तिपूर्वक सम्पन्न भएको बताइएको छ । परीक्षा जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्रहरू राखी भ्रम सिर्जना गर्नेउपर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको पनि बताइएको छ ।
‘सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिनुहुन सम्पूर्ण परीक्षार्थीहरूलाई अनुरोध गरिन्छ । परीक्षा जस्तो संवेदनशील विषयमा गलत सूचना सम्प्रेषण गरी विद्यार्थीको मनोभावनामा चोट पुऱ्याउने गरी यस्तो कार्य नगर्नसमेत राष्ट्रिय परीक्षा बोर्ड सम्बन्धित सबैमा अनुरोध गर्दछ,’– जारी विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया