माओवादीले कुन पासोमा परेर सरकार ढल्छ भनेर हेरेको छैन, आवश्यकता पर्यो भने चाहीँ कांग्रेसलाई समर्थन गर्छौंः पूर्वमन्त्री किराती


काठमाडौं, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले अहिलेको परिस्थितिमा पार्टीले एमालेलाई साथ दिन नसक्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता किरातीले आवश्यकता पर्या भने कांग्रेसलाई समर्थन गर्न नसक्ने तर एमालेलाई कुनै पनि हालतमा समर्थन गर्न नसक्ने बताएका हुन् । एमालेले अहिलेको ८/१० महिना सरकार चलाउँदा निकै नै बदनामी ब्यहोरेको र विना कारणमा माओवादीसँगको गठबन्धन तोडेकाले फेरि उसलाई साथ दिन नसकिने नेता किरातीले बताए । आवश्यकता पर्यो भने माओवादीले कांग्रेसलाई समर्थन गर्ने नेता किरातीले बताए ।

‘त्यस्तै आवश्यकता पर्यो भने हामीले कांग्रेसलाई समर्थन गर्दिन्छौं भनेकै छौं । हामीले कुन चाहीँ पासो लागेर सरकार ढल्छ भनेर हेरेका छैनौं । तर, देश संकटमा जान्छ भने त्यो बेला कांग्रेसलाई समर्थन गर्दिन्छौं भनेकै छौं । एमालेलाई अहिले समर्थन गर्न सकिँदैन । यो ८/१० महिनामा एमालेको सरकार बनाएर बदनामी ब्यहोरेको छ, यो देशले । त्यो कारणले त्यो फोहोरको भारी बोक्न सक्दैनौं । दोस्रो कुरा एमाले र माओवादीको गठबन्धनद्वारा चलिरहेको सरकार एमालेले षड्यन्त्रपूर्वक ढंगले ब्रेक गरेर अर्को ठाउँमा गएको छ । त्यस कारणले पनि अहिले सम्भव छैन,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले देश ग्रे–लिस्टमा परेको अवस्थामा पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको पासोमा देशलाई हाल्न खोजिएको भन्दै आपत्ति जनाए । उनले गभर्नर नियुक्ति नहुनु देशको लागि निकै घातक रहेको उनले बताए । ‘गभर्नरको कुरा जहाँसम्म छ, देश आर्थिक रुपमा ग्रे–लिस्टमा परेको बेलामा, हाम्रो आर्थिक अवस्था निरन्तर ओरालो झरिरहेको बेला, यस्तो बेलामा गभर्नरको पासोमा देशलाई पारेर सरकारी पक्षले जुन हर्कत गरिरहेको छ, यो आपत्तिजनक छ । देशको निम्ति धेरै ठूलो घात प्रतिघात भइरहेको छ । नेपाली जनताले राम्रोसँग हेरिरहेका छन् । यो सरकारको गतिविधिप्रति आक्रोश नै पैदा भएको छ,’– उनले भने ।