काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य संजयकुमार गौतमले सरकारको नीति तथा कार्यक्रम विगतकै निरन्तरता रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको नीति तथा कार्यक्रम जनतामा आशा जगाउने गरी आउन नसकेको बताएका हुन् । उनले आफूहरुले गुनासो भन्दा पनि जनतामा रहेको निराशालाई चिर्नेगरी नीति तथा कार्यक्रम आउनुपर्थ्यो भनेर चिन्ता व्यक्त गरेको बताए ।
‘सरकारको नीति तथा कार्यक्रम त आयो । तर, हरेक वर्ष जसरी आउँथ्यो, त्यसैगरी आयो । सबैभन्दा ठूलो कुरा जनतामा आशा पैदा गर्नुपर्ने हो । भरोसा पैदा गर्नुपर्यो, आशा जगाउनुपर्यो । सुशासन दिनुपर्यो, भ्रष्टाचार नियन्त्रण हुनुपर्यो । अहिले कांग्रेस र एमाले दुई ठूला दल मिलेर बनेको सरकारले केही त गर्नुपर्यो नि । शासन चलाउने, मन्त्री, प्रधानमन्त्री बनाउने त चलिराख्छ नि । यो निराशालाई चिर्ने काम गरोस् भन्ने आशा हो,’– उनले भने ।
नेता गौतमले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए । उनले आफूहरुलाई सरकारको प्रभावकारितामा शंका रहेको र यो सरकार पनि असफल भएको खण्डमा मुलुक कतातिर जाने हो भन्ने अनिश्चित रहेको बताए । नेता गौतमले प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको सरकार लयमा हिँड्नै नसकेको बताए । सुशासनको कुरा गरेर नथाक्ने वर्तमान सरकारको मन्त्रिपरिषदले ९ महिना बितिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै उनले आपत्ति जनाए । प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नु सुशासनको सबैभन्दा पहिलो खुड्किलो रहेको उनले बताए ।
‘यो सुशासनको सबैभन्दा प्रारम्भिक स्टेप हो । यो स्टेपमै सरकारले उदासीनता देखाउनु राम्रो कुरा हुँदै होइन । हामीले सुशासन र भ्रष्टाचारको सवालमा पार्टीभित्र पनि र सरकारको पनि ध्यानाकार्षण गराइरहेका छौं । खाली भाषण गरेर हुनेवाला केही छैन । परिणाम आउनुपर्यो भाषण गरेर हुनेवाला केही छैन । कति राम्रो फुटबल खेल्यो, त्यो मतलब भएन, गोल गर्नुपर्यो । हामीले सुशासन दिन सकेनौं । सुशासन दिनलाई त हामी इमानदार हुनुपर्छ । हरेक तहमा भ्रष्टाचार छ । नेताले कर्मचारी र कर्मचारीले नेतालाई दोष दिएर समस्याको समाधान हुँदैन,’– उनले भने ।




प्रतिक्रिया