केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत्यु प्रकरणको सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुख घिमिरेको निर्देशन


काठमाडौं, २२ वैशाख । प्रतिनिधिसभाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राहरुको मृत्यु प्रकरणमा गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरुले उक्त विद्यालयमा केही दिनअघि मृत फेला परेकी प्रिशा साहको मृत्यु प्रकरणको बारेमा प्रश्न उठाएका थिए । प्रतिनिधिसभामा उठेको प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभामुख देवराज घिमिरेले घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षसँग छलफल गर्न र मृतकका परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देशन दिए ।

‘उज्यालो भविष्यको सपना बोकेर विदेशिएका विद्यार्थीहरुको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देश गर्दछ्,’– सांसदहरुले उठाएको प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले भने ।

सभामुख घिमिरेले विदेशमा अध्ययनरत नेपालीहरुको सुरक्षा सुनिश्चित गर्न/गराउन आवश्यक व्यवस्था गर्नसमेत सरकारलाई निर्देशन दिएका छन् । पर्साको वीरगञ्ज निवासी प्रिशा गत बिहीबार राति होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । गत फागुन ४ मा पनि सोही विश्वविद्यालयमै अध्यायनरत प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिईन् ।