काठमाडौं, २२ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले ऊर्जामन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई बर्खास्त गर्दै पनि कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत लक्षित गर्दै गठबन्धन सरकारको अभ्यास र कार्यतरिका हेक्का राख्न आग्रह गरे ।
‘ठीक भयो कि बेठीक, मन्त्रिपरिषद्ले निर्णय गर्यो । म त्यतातिर केही बोलिनँ । तर, ऊर्जामन्त्री नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ कि गर्नुहुन्न ? गठबन्धन सरकारको अभ्यासमा अभ्यास र कार्यतरिका कस्तो हुन्छ ? यसको हेक्का छैन र ? ऊर्जामन्त्रीको प्रस्तावमा उहाँ हट्नुभयो । अनि गाली प्रधानमन्त्रीलाई, दोष प्रधानमन्त्रीलाई ?’ प्रश्न गर्दै उनले भने ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र राज्यमन्त्रीलाई हटाउने प्रधानमन्त्रीको स्वैच्छाको विषय नरहेको पनि उनले बताए । कुलमान र राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तगीलाई कांग्रेसका केही नेताहरुले प्रधानमन्त्रीमाथि दोष थुपारेर उम्किने विषय बनाएको उनको आरोप छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवासँग समन्वय भएको भनेर तथ्य बुझ्नसमेत आग्रह गरे ।




प्रतिक्रिया