अखिल (क्रान्तिकारी) पुनः रक्तिम आन्दोलनको झण्डा लिएर अगाडि बढोस्


  • शम्भु पन्त

‘क्रान्तिकारी’ भन्ने नाम मात्रै होइन, यो नेपाली विद्यार्थी आन्दोलनको रक्तिम इतिहास हो । जहाँ सहिद दिलबहादुर रम्तेलको बलिदान, बेनोज अधिकारी र पूर्ण पौडेलको सपना, अनि लाखौँ विद्यार्थीको समर्पण मिसिएको छ। तर, आज जब हामी पछाडि फर्केर हेर्छौं, हामीले बालेको क्रान्तिको आगो खरानी बनिसकेको अनुभूति हुन्छ, र दुःखको कुरा त्यही खरानीलाई हतियार बनाएर आज घर जलाउनेहरूले नै ‘जोगी’ बन्ने प्रयास गरिरहेका छन् । हिजो संगठन बनाउँदा नारा थियो ‘शान्तिको लागि हिंसा, स्वतन्त्रताका लागि बन्दी जीवन ।’ तर, आज स्थिति उल्टो देखिन्छ—स्वार्थका लागि संगठन, अनि सत्ताका लागि संघर्ष ।

हिजो आन्दोलनको चौरमा संगठित विद्यार्थीहरूको आवाज गर्जन्थ्यो, आज ‘गुट’ र ‘ध्रुवीकरण’ को स्वारमात्र बाँकी छ। २३औँ राष्ट्रिय सम्मेलनपछि अखिल क्रान्तिकारी पुनः एकजुट नहुनु, अध्यक्ष विजय प्रकाश सापकोटा र महासचिव रोशन थापा मगर एक अर्कामाथि नै ‘सुई’ लगाउने अवस्थामा पुग्नु, एउटा गुटको उप–महासचिव र सचिवले अर्को गुटको उप–महासचिव, सचिव र उपाध्यक्षको अस्तित्व स्वीकार नगर्नु साथै एउटा गुटका उपाध्यक्षले अध्यक्षको नेतृत्व स्वीकार नगर्नु—यी सबै संगठनको अस्वस्थ यथार्थ हुन्। साथै उपाध्यक्ष लगाएतका जिम्मेवार पदाधिकारीहरु काम सिन्को नभाच्ने तर सेलिब्रेटी बन्ने प्रवृत्ति पनि संगठनको लागि घातक बन्दै गएको छ।

यो समग्र क्रान्तिकारी चेतना र अनुशासनको संकट हो। जनवादको प्रयोग गरेर नेतृत्व चयन गर्ने संगठनले, जनवादको संरक्षण गर्न नसक्नु नै दुर्भाग्य हो। यही संगठन थियो जसले आन्दोलनमा थुप्रै ऐतिहासिक परिवर्तन ल्यायो। जनचेतना अभिवृद्धि, शैक्षिक सुधारको माग, समाजवादको पक्षमा अडान—यी सबै नै क्रान्तिकारीको पृष्ठभूमि हुन्। संगठनले ३२ वर्षे उमेर सीमा तोक्ने, चुनावमार्फत नीति निर्माण गर्ने, र नेतृत्व छनौट गर्दा सिद्धान्त र प्रक्रियालाई प्राथमिकता दिने काम गर्‍यो, जसको कदर गरिनुपर्छ। तर, के आज पनि त्यो अभ्यास ज्यूँका त्यूँ छ ?

२३औं राष्ट्रिय सम्मेलनपछि नेतृत्व चयन जनवादी ढंगबाट भयो—निर्वाचनमार्फत। तर, जनवादको प्रयोग भएको ठाउँमा आज संरक्षणको अभाव छ। निर्वाचन सकिएपछि सुरु भएको सत्ताको रस्साकस्सी, पदाधिकारीहरूको परस्पर अस्वीकार र सामूहिक नेतृत्वको अभाव नै आजको प्रमुख चुनौती हो । अध्यक्ष, उपाध्यक्ष,महासचिव, सचिवालय—सबै पदहरूमा निर्वाचित भए पनि “तिमी मेरो होइनौ, म तिमीलाई मान्दिन” भन्ने प्रवृत्तिले संगठनभित्र अस्वस्थ प्रतिस्पर्धा होइन, अस्वीकारको संस्कृति जन्माइरहेको छ।

शैक्षिक आन्दोलनः पुनर्जागरणको आवश्यकता
हिजो ‘शैक्षिक व्यापारीकरणको विरोध, गुणस्तरीय सार्वजनिक शिक्षाको माग’ गर्ने अखिल क्रान्तिकारी आज पनि त्यो मोर्चामा सबैभन्दा सशक्त संगठन बन्न सक्दछ, यदि ध्यान केन्द्रित गरियो भने । निजी शिक्षाको चरम मुनाफाखोरी, सार्वजनिक शिक्षाको उपेक्षा, पाठ्यक्रमको राजनीतिक प्रयोग—यी सबै मुद्दामा संगठित हस्तक्षेप हुन जरुरी छ। संगठन अब केवल क्याम्पस र सडकमा होइन—नीतिगत तहमा पनि उपस्थिति जनाउनु आवश्यक छ।

स्मरणीय छ– लेखनाथ न्यौपाने अध्यक्ष हुँदा अखिल क्रान्तिकारी साँच्चिकै ‘सडकको बाघ’ थियो। एक समय थियो– अखिल (क्रान्तिकारी) केवल भित्ते पोस्टर र प्रेस विज्ञप्तिसम्म सीमित थिएन। यो सडकमा हुन्थ्यो, विद्यार्थीको स्वाभिमानमा हुन्थ्यो। लेखनाथ न्यौपानेको अध्यक्षतामा संगठनले शैक्षिक मुद्दा उठाउँदै सार्वजनिक शिक्षा रक्षा अभियान चलाएको थियो। निजी शिक्षाको व्यापारिक चरित्रविरुद्ध विद्यार्थीहरू उत्रिएका थिए। उच्च शिक्षामा पहुँच, गुणस्तर, र समानताको विषयमा अखिल (क्रान्तिकारी) अग्रपंक्तिमा थियो। उनी नेतृत्वमा हुँदा संगठनले न केवल शैक्षिक आन्दोलनमा, तर श्रमिक, किसान र महिला मोर्चामा पनि सशक्त आवाज उठायो। संगठन मुख्यालय केन्द्रित होइन, कलेज, क्याम्पस र बस्तीमा केन्द्रित थियो। यही मोडेल पुनः स्थापनाको खाँचो आज छ ।

तर, विडम्बना अखिल (क्रान्तिकारी) २१ औं शताब्दीको सबैभन्दा गम्भीर मुद्दा  जलवायु  परिवर्तन र संकटको मामिलामा चुकेको छ। जलवायु संकटबाट सबैभन्दा बढी श्रमिक वर्ग, किसान र गरिब विद्यार्थीहरू प्रभावित छन्। अखिल क्रान्तिकारीले जलवायु संकटलाई वर्गीय उत्पीडनसँग जोडेर व्याख्या गर्नुपर्छ।जलवायु न्याय नभई समाजवादी समाज सम्भव छैन भनेर वातावरणीय संवेदनशीलता अनिवार्य विषयको रूपमा विद्यालय र कलेज तहमा समावेश गर्न,सौर्य उर्जा, जलविद्युत्, तथा हरित प्रविधि सम्बन्धी अनुसन्धान र विकासमा राज्यको लगानी बढाउन र कार्बन उत्सर्जनमा जिम्मेवार धनी देशहरूले गरिब राष्ट्रहरूलाई जलवायु क्षतिपूर्ति दिनुपर्ने आवाज उठाउन अखिल क्रान्तिकारीले नेपाल सरकार दबाब दिन जरुरी छ।

त्यति मात्र होइन, अखिल क्रान्तिकारी शिक्षक आन्दोलनको मुद्दाहरुमा पनि चुकेको छ। यति बेला नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको मागसहित करिब एक महिनादेखि राजधानी काठमाडौंमा भइरहेको शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा अखिल (क्रान्तिकारी) शिक्षकहरुसँग सडकमा हुनेबेलामा नेताहरुले ऐक्यबद्धताको लागि कागजको खोस्टामा विज्ञप्ति  र फेसबुकको भित्तामा पोष्ट गरेको बाहेक केही देखिएन । अखिल (क्रान्तिकारी) ले एक हप्तामा तीन दिन कक्षाकोठा जाने र तीन दिन रोजगारी प्राप्त गर्ने हिसाबले अबको विद्यार्थीहरु पढ्दै कमाउदैको अवस्थामा कुनै पनि हालत पुराउन पर्छ भनेर सरकारसँग  माग राख्न र दबाब दिन सकि रहेको छैन।

निष्क्रियता, असंगठितता, र प्रतिक्रियाहीनताले अखिल क्रान्तिकारीलाई जनताबाट टाढा बनाइरहेछ। अखिल (क्रान्तिकारी) यदि साँच्चै श्रमजीवी वर्गको संगठन हो भने, जलवायु संकट, विद्यार्थी र शिक्षक आन्दोलन, देशको सार्वभौमसत्ता, श्रमिक  र जनताको प्रत्यक्ष जनजिविकासँग गाँसिएका विषयहरूमा मोर्चा खोल्नैपर्छ। होइन भने, संगठनको वैचारिक आधार झन्झन् खोक्रो बन्दै जानेछ।

बिखण्डन होइन, बहस र समायोजन
वर्तमान नेतृत्वले निर्वाचनपछिको समायोजन गर्न नसक्नु, एक–अर्काको अस्तित्व अस्वीकार गर्नु, पदमा पुगेपछि संगठनभन्दा गुट प्राथमिक मान्नु यी प्रवृत्तिहरू नै सबैभन्दा खतरनाक छन्। क्रान्तिकारी संगठनमा असहमति स्वाभाविक हुन्छ। तर, त्यो असहमति बहस र निर्णयमार्फत समाधान हुनुपर्छ, निषेध र बदला मार्फत होइन । सबैभन्दा गम्भीर प्रश्न अहिलेको नेतृत्व संरचनासँग गाँसिएको छ–निर्वाचनमा गुटगत ध्रुवीकरण भयो, त्यो राजनीतिक यथार्थ हो । तर, चुनावपछिको अवस्था हेर्दा एउटाको जितले अर्कालाई पराजित मात्र गरेन, अस्वीकार नै गर्‍यो। यही प्रवृत्तिले अहिलेको संगठनलाई वास्तविक संकटमा डुबाइरहेको छ ।

यो केवल व्यक्तिका बीचको मनमुटाव होइन, यो एक–अर्कालाई नस्वीकार्ने प्रवृत्ति, सत्ता रच्न प्रयोग गर्ने गुटीय पूर्वाग्रह, अनि कार्यशैलीमा केन्द्रबाट बढ्दै गएको अविश्वास हो । त्यतिबेला संगठनले ‘क्रान्ति’लाई केवल विरोधको शैलीमा होइन, नीति, दृष्टिकोण र विकल्पको रूपमा प्रस्तुत गरिरहेको थियो। आज त्यही वैचारिक नेतृत्व हराउँदै गएको अनुभूति विद्यार्थीहरूमा तीव्र छ। संगठन अहिले एउटा मोडमा छ—जहाँ आत्ममूल्याङ्कन आवश्यक छ। आन्दोलन गर्ने, नेतृत्व चयन गर्ने तर तिनको संरक्षण नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। नेतृत्वलाई न्यानो कुर्सी होइन, न्यानो चेतना आवश्यक छ।

आजको दिनमा हाम्रो चिन्ता यत्ति हो—‘झण्डा जोगिए हामी जोगिन्छौं, घर रहे बास पाइन्छ’ भन्ने कर्मठहरू यदि आफैँ गल्तीमा परेको महसुस गर्न थाले भने त्यसको क्षतिपूर्ति कसले गर्ने ? २३औं राष्ट्रिय सम्मेलनले थुप्रै प्रश्नहरू खडा गर्‍यो । के अखिल (क्रान्तिकारी) फेरि त्यो रक्तिम दिनहरूमा फर्कन सक्छ ? के यो संगठन फेरि क्याम्पस र सडकमा गुञ्जिनेछ ? उत्तर यति मात्र हो— यदि नेतृत्वले आलोचना पचाउन सिक्यो, पराजयलाई प्रतिद्वन्द्वी होइन, सहयात्री मानेर अघि बढ्यो, अनि विचारलाई व्यक्तिभन्दा माथि राख्यो भने अखिल (क्रान्तिकारी) फेरि उठ्नेछ। समय अझै बाँकी छ, बलिदानीलाई श्रद्धा साँचो सम्मान भनेको तिनले देखाएको बाटोमा हिँड्नु हो। नेतृत्वप्रति असन्तुष्टि होइन, चिन्ता गर्नु नै संगठनप्रतिको निष्ठा हो। अखिल (क्रान्तिकारी) पुनः एक पटक रक्तिम आन्दोलनको झण्डा लिएर अगाडि बढोस् । तर, यो पटक खरानी होइन, आगो बोकेर ।

(पन्त अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन् ।)