सरकार स्वार्थसमूहको लगाममा कुदिरहेको छ, नीति तथा कार्यक्रम जनअपेक्षाअनुकूल छैनः प्रचण्ड


काठमाडौं, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही बैशाख १९ गते राष्ट्रपतिज्यूबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले नीति तथा कार्यक्रम जनताको जीवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको बताए । ‘नीति तथा कार्यक्रमले न त विगतको समिक्षा गरेको छ, न वर्तमान संकटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ। यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ,’– अध्यक्ष प्रचण्डले भने ।

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भाषा अमूर्त, औपचारिक र प्रेरणाहीन रहेको भन्दै सत्तारूढ पक्षकै सांसदहरू मौन रहनु गम्भीर संकेत भएको बताए । àजब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन, ’– उनले भने ।

अध्यक्ष प्रचण्डले कृषि, जलश्रोत, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, संघीयता र सामाजिक न्याय जस्ता राष्ट्रिय प्राथमिकता भएका विषयहरूलाई पृष्ठपोषण गर्न असफल भएको बताए । प्रचण्डका अनुसार नीति तथा कार्यक्रमले न्याय, समानता र समावेशी लोकतन्त्रप्रति सरकारले कस्तो दृष्टिकोण राखेको छ भन्ने कुरा प्रष्ट छैन ।

नीति तथा कार्यक्रममा व्यापक पुनर्विचारको आवश्यकता रहेको उल्लेख गर्दै, जनमुखी, व्यावहारिक र उत्पादनमुखी कार्यक्रमहरू ल्याउन सरकारलाई अध्यक्ष प्रचण्डले आग्रह गरे । उनले सरकारलाई जनतासँग संवाद गर्न, यथार्थ बोध गर्न र दीर्घकालीन समाधानमा केन्द्रित हुन अपिल गरे । प्रचण्डले सरकार स्वार्थ समूहको लगाममा रहेको बताए ।

सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति सुद्धीकरण, भ्रष्टाचार, कुशासनलगायतका विषयमा सकरारको नीति तथा कार्यक्रमले कुनै ध्यान नदिएको उनले बताए । ‘स्वार्थ समूहरुको लगाममा कुदिरहेको सरकारको ध्यान आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साध्ने, अनि गठबन्धन निर्माणका शुत्रधारहरुको एकपछि अर्को निर्णय गर्नमा मात्रै सीमित भएको देखिएको छ,’– उनले भने ।