सरकार सातबुँदे सम्झौताअनुसार अगाडि बढ्न सकेनः शेखर कोइराला


काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकार सात बुँदे सम्झौताअनुसार अगाडि बढ्न नसकेको बताएका छन् । आज (सोमबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेस–एमालेसहितको सरकार बन्दा भएका सात बुँदे सहमतिहरु संविधानको पुनरावलोकन, आर्थिक सुधार, भ्रष्टाचार अन्त्य र सुशासन दिने कुरामा सरकार चुकेको बताएका हुन् ।

‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो । सात बुँदेमा संविधान पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार, भ्रष्टाचार निर्मूल गर्ने कुरा, सुशासन दिनेलगायतका कुराहरुमा सरकार चुकेको छ । त्यो कुराहरु जरुरी छ,’– उनले भने ।

कांग्रेस–एमालेसहित सरकारमा रहेका दलहरुले मात्रै संविधानमा पुनरावलोकन गर्न नभई संसद्भित्र रहेका सबै दलहरुको प्रतिनिधित्व र सरोकारवालाहरुको रायको आधारमा हुनुपर्ने उनले बताए । ९ महिना हुँदासम्म त्यसबारे कुनै चासो नदेखाइएको भन्दै उनले आपत्ति जनाए ।

नेता कोइरालाले सरकारको विषयलाई लिएर कांग्रेसभित्र अहिले कुनै समस्या नरहेको बताए । उनले आफूले सरकारको नभएर संयन्त्रको विरोध गरेको पनि बताए । सरकार सञ्चालनको सम्बन्धमा कांग्रेस–एमालेले पालिकासम्मै संयन्त्र बनाएर जानुर्छ भनिरहेको र त्यो गलत रहेको उनको भनाइ छ । नेता कोइरालाले डेमोक्रेटिक सिस्टममा त्यसलाई सही अभ्यास मान्न नसकिने बताए ।

‘कांग्रेसभित्र कुनै पनि समस्या छैन । कतिपय मिडियाहरुले शेखर सरकार ढाल्न लागेको छ भनेका छन् । त्यो होइन । यो सरकारलाई असफल हुने छुट छैन । मैले भनेको चाहीँ के हो भने संयन्त्र हामीहरुले बनाएका छौं । त्यो संयन्त्र बनाउन हुँदैन । डेमोक्रेटिक सिस्टममा जाने भए सरकारभित्रको संयन्त्र बनाउनुहोस् । बाहिरको संयन्त्र बनाउने होइन । पालिकासम्म संयन्त्र बनाएर जाने एमाले र कांग्रेसले निर्णय गरेको छ । त्यो गलत हो,’– उनले भने । File Photo/RN