महानगरले ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरुले गुहारे संघीय सरकार, जिउधन रक्षाको माग


काठमाडौं, २२ वैशाख । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायी र संकलक मजदुरहरुमाथी कुटपिट गर्ने, अपहरण गर्ने, व्यवसायस्थलका संरचनाहरु भत्काउने र समान जफत गर्नेलगातका गतिविधि गरेर दुःख दिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज (सोमबार) कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ता रौनियारको टोलीले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेटेर व्यवसायिक हक हितको लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

कवाडी व्यवसायीहरुले प्रचलित कानूनबमोजिम अनुमति लिएर महानगरको विभिन्न वडाहरुमा कवाड व्यवसाय सञ्चालन गर्दै आएको र सरकारलाई तिर्नु पर्ने करसमेत तिर्दै आएको अवस्थामा महानगरले विभिन्न बहानामा आफूहरुको व्यवसाय नै धरापमा पारिदिन खोजेको उनीहरुको गुनासो रहेको छ ।

‘काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरुमाथी कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने, संकलक र मजदुरका साईकल र समान जफत गर्ने काम गरिरहेको छ । काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अङ्गभङ्ग भएका छन्,’– मन्त्री गुप्तालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले काठमाडौंबाट गरिब जनता र गरीखाने वर्गलाई हटाउने खोजेको उनीहरुको निष्कर्ष रहेको छ । कवाड व्यवसायी र संकलकमाथि महानगरको गुन्डागर्दी र ज्यादती गरिरहेको कवाड व्यवसायी संघर्ष समितिले बताएको छ । महानगरको उक्त कार्य तत्काल रोकी व्यवसायीको जिउधनको रक्षाको लागि उनीहरुले संघीय सरकार गुहारेका छन् । ज्ञापनपत्र बुझाउन संयोजक गुप्तासहित व्यवसायीहरु ओमप्रकाश सिंह, मनोहर प्रशाद चौधरी, सुरेश शाह, सरोज श्रेष्ठसमेत पुगेका थिए ।