माता सीताको जन्मजयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै प्रभु साहले उठाए प्रश्न


काठमाडौं, २३ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सीता जयन्ती (जानकी) लाई किन सरकारले बेवास्ता गरेको भनेर प्रश्न सोधेको छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले भने,‘आज माता सीताको जन्मजयन्ती हो, म सबैलाई शुभकामना भन्छु । सरकारलाई जानकी जयन्तीको बारेमा थाहा छ कि छैन ? श्रीरामको जन्मजयन्ती, रामनवमी हामी मनाउँछौं । त्यो खुशीको कुार हो । सरकारले विदा पनि दिन्छ । तर, जानकी जयन्तीलाई किन बेवास्ता गरेको हो ? अहिलेको २१औं शताब्दीमा लैङिक विभेद गर्न मिल्छ ? एउटा राष्ट्रिय विभूति सिता, जो नेपालको गौरव हो, उहाँको सम्मानको बेवास्तालाई गर्न मिल्छ ? म सम्माननीय प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु–तपाईं आफ्नो जन्मदिन त धुमधामका साथ मनाउनुहुन्छ, सीताको जन्मदिन कसरी बिर्सिनुभयो ? दुनियाँका विदेशका विभिन्न व्यक्तित्वहरुको जन्मदिनमा हामी के के न गर्छौं, तर हाम्रै देशको विभूति माता सीताको जन्मदिन बेवास्ता गरिएको छ, यसलाई कसरी लिने ?’

उनले माता सीताको जन्मदिनको लागि विदा र राष्ट्रिय क्यालेण्डरमा राख्नको लागि आफूले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटमा मन्त्री हुँदा प्रस्ताव राखेको तर त्यतिवेलाका प्रधानमन्त्री ओलीले नमानेको स्मरण गराए । उनले अहिलेपनि प्रधानमन्त्री ओली रहेको र सत्ता सहकार्यमा नेपाली कांग्रेस रहेको भन्दै कांग्रेसका नेताहरुलाई राष्ट्रिय विभूति माता सीताको सम्मान गर्न आग्रह गरे । उनले आगामी वर्षको क्यालेण्डरमा सीता जयन्ती राख्नपनि आग्रह गरे । उनले संविधानले नै लैङिक विभेद स्विकार नगरेकोले रामको जन्मजयन्ती मनाउँदा माता सीताको पनि जन्मदिन मनाउनुपर्ने बताए ।