सूर्य पश्चिमबाट उदाउला, तर माओवादीसँग गठबन्धन भएर अर्को सरकार बन्दैनः एमाले नेता थापा


काठमाडौं, २३ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले नेकपा (माओवादी केन्द्र) सँगको नयाँ गठबन्धन बनाउने सम्भावना शून्य रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सूर्य पश्मिबाटै उदाए पनि माओवादीसँगको गठबन्धन सम्भव नरहेको बताएका हुन् । ‘सूर्य पश्चिमबाट उदाउन सक्ला तर, माओवादीसँग गठबन्धन भएर अर्को सरकार बन्दैन । एमाले र कांग्रेससहितका दलहरुको गठबन्धन छ । यो तासको पत्ति फेरेजस्तो सरकार फेरिरहने, मुलुकलाई अस्थिरताको दुष्चक्रममा फसाइरहने काम गर्न हुँदैन,’– उनले भने ।

साथै, प्रमुख प्रतिपक्षी दलको नेताले रचनात्मक भूमिकामार्फत सरकारलाई सहयोग गर्नुपर्नेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खाली सरकार ढाल्नेमात्रै धम्की दिँदै हिँडेको उनले बताए । कांग्रेस–एमाले दुवैले माओवादीलाई सत्ताको नेतृत्वमा पुर्याएर भोगिसकेको बताउँदै उनले अब त्यसो गर्न नहुने बताए । अहिले सानातिना पार्टीहरु चमार हम्किएर सरकार ढल्ने अवस्था नरहेको उनले बताए । प्रचण्डले अब भोकोजस्तो हुन नहुने उनले बताए ।

‘पुष्पकमल दाहालजीले धेरै अघोरी बाबाको जस्तो गर्न आवश्यक छैन । किनभने उहाँलाई नेपाली कांग्रेस र एमालेले काँधमा हालेर नै ३२ सिट हुँदा पनि २० महिना सरकारको नेतृत्व गर्ने ठाउँमा पुयाएको हो । उहाँ शान्त हुनुपर्छ, स्थिर हुनुपर्छ, चञ्चल हुन हुँदैन । सरकारतिर फर्केर हेर्नै नपाएकोजस्तो, किलो हान्ने भैंसी हुन्छ नि, त्यसो गर्न हुँदैन । जति घाँस खुवाए पनि किलो हानिरहने बानी भएको एउटा भैंसी हुन्छ । त्यो पाल्नेहरुलाई थाहा हुन्छ । पुष्पकमल दाहालले त्यसो गर्न हुँदैन भन्ने कुरा हो । कांग्रेस र एमालेको बीचमा जुन समझदारी भएको छ, त्यो समझदारीअनुसार नीति कार्यक्रम आएको छ । छलफल जारी छ,’– उनले भने ।