काठमाडौं, २३ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मुटुमै गोली लागेको जस्तो भइरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अधिकार रहेको बताए । उनले प्रचण्डलाई आफूले प्रधानसेनापतिदेखि मुख्यसचिवसमेतलाई हटाएको समरण गर्न आग्रह गरे ।
‘केही कर्मचारीलाई सरकारले हटायो । यो सरकारको अविशिष्ट अधिकार पनि हो । यसमा समीक्षा गर्न सकिएला । तर म कमरेड प्रचण्डलाई भन्न चाहन्छु– तपाईँले प्रधानसेनापतिलाई नै हटाउनु भएको थियो त ? एक पटक सम्झिनु त अस्तिको कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनु भयो । अनि अर्को मुख्यसचिव ल्याउनुभयो । यस्तो त गर्नुभयो त ? अनि केपी ओली नेतृत्वको सरकारले एउटा सहसचिवलाई हटाउँदा तपाईको मुटुमै गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भयो नि त,’– उनले भने ।
साथै, उनले प्रचण्डले वर्तमान सरकार अप्राकृतिक, स्वार्थ समूह र विचौलियाले बनाएको भनी गरेको टिप्पणीप्रति आपत्ति जनाए । प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भन्दा प्राकृतिक र ओली सोही धाराअनुसार प्रधानमन्त्री बन्दा अप्राकृतिक भन्ने हुन नसक्ने उनको दाबी छ । उनले प्रचण्डलाई सिसाको घरमा बसेर अरुको घरतिर ढुङ्गा नहान्न आग्रह गरे ।
‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषणमा पनि र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, विचौलिया । मलाई के लाग्छ भनेदेखि मेरो यतिमात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुङ्गा हान्ने प्रयास नहोस् । धारा ७६ (२) अनुसार बनेको पुष्पकमल दाहालजीको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने ? यो कुन संविधानबाट उहाँले ब्याख्या गर्नुभयो ?’ प्रश्न गर्दै उनले भने ।
त्यस्तै, झापामा बनेको भ्यू–टावर, पानी जहाजलगायतका विषयमा प्रधानमन्त्री ओलीको विरुद्धमा गीत नै गाउने काम भइरहेको उनले बताए । यसो गरिनु गलत रहेको उनको भनाइ छ । माओवादी नेतृत्वको सरकारले झनै अनुत्पादक क्षेत्रमा लगानी गरेको पनि उनले बताए । रोल्पाको लिवाङ र कालिकोटको डाँडातिर बनाइएको टावर र २÷४ किलोमिटरमा बनाइका सहिद गेटले कुनै प्रतिफल नदिने उनले बताए ।
‘झापामा एउटा बिजनेश टावर बनेको छ, सबैले गीत गाइरहनुभएको छ । यहाँ संसद्मा पनि बडो मीठो गीत आउँछ यसको । पानी जाहजको, हिजो पनि पूर्व प्रधानमन्त्रीजीले त्यो कुरा उठाउनुभयो । उहाँको पालामा लिवाङ, कालिकोटमाथिको डाँडामा भ्यू–टावर खडा गरिएको छ । कसले बनायो भनेर सोधेको माओवादीले । बाटैपिच्छे दुई चार किलोमिटरमा सहिद गेट छन् । यी आयोजनाहरुले के प्रतिफल दिइरहेको छ ? यसमा किन पैसा खर्च गरेको ?’ उनले भने ।




प्रतिक्रिया