कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार दिन हुँदैनः मन्त्री गुरुङ


काठमाडौं, २३ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार दिन नहुने बताएका छन् । आज (मंगलबार) विश्वसनीय पत्रकारिताका लागि सुचनाको हकको प्रयोग विषयक अन्तर्किया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा निरङ्कुशताको विरुद्धमा सबै लड्नुपर्ने अवस्थामा संगठन बनाइएको भए पनि अब लोकतन्त्रमा कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउन नहुने बताएका हुन् ।

उनले नेपाल शिक्षक महासंघको आन्दोलनबारे उल्लेख गर्दै भने ‘अब चाहीँ पार्टीहरुले भन्न सक्नुपर्छ– हिजो अधिकारको आन्दोनको एउटा फ्रेज थियो, हामी सबै लागेका थियौं, निरङ्कुशता खत्तम गर्नका लागि । अब लोकतन्त्र आइसक्यो । लोकतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार व्यूरोक्रेशीमा हुन हुँदैन । यसले हाम्रो व्यूरोक्रेशीलाई बाधा दियो । सुशासन कायम गर्ने कुरामा बाधा दियो । एउटा मन्त्रीले मेरिटोक्रेशीमा विश्वास गरेर काम गर्छु भन्यो भने सक्छ ? सक्दैन । हाम्रो पालामा यति पनि नगर्ने, हाम्रो संगठनको इज्जत जान्छ । हाम्रो डेमोक्रेशीको हुर्मत जान्छ भन्ने कुरा कसैले भन्दैन ।’