अदालतको अवहेलना मुद्दामा सर्वोच्चले खगेन्द्र सुनारसँग माग्यो लिखित जवाफ


काठमाडौं, २३ वैशाख । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारसँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । सुनारविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा आज (मंगलबार) न्याायधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भएको थियो ।

न्यायाधीशद्वय मल्ल र निरौलाको इजलासले उक्त मुद्दामा लिखित जवाफ पेश गर्न भनेको हो । जाजरकोटका नवराज विकसहित छ जनाको हत्याको सन्दर्भमा उच्च अदालत सुर्खेतको फैसलालाई लिएर सुनारले केही दिनअघि काठमाडौंको माइतिघरमा धर्ना दिएका थिए । उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीले जन्मकैदको सजायलाई सदर गरी जातीय छुवाछुत कसुरमा उन्मुक्ति दिएको भन्दै उनीहरुले विरोध जनाएका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले ‘न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीलाई कारबाही गर’ लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए । अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिईन् ।