काठमाडौं, २३ वैशाख । बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रिता वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चल्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले उक्त बाल मन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको र अहिले प्रक्रिया सुरु भइसकेको बताइएको छ ।
नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा हिनामिना भएको बताइएको छ । कौडीको मूल्यमा ७९ वर्षका लागि बाल मन्दिरको जग्गा भाडामा दिएर व्यक्तिगत रुपमा आर्थिक लाभ लिएको प्रतिवादीहरुमाथि आरोप छ ।
उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय र उच्च सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । दुई तहको सरकारी वकिलको कार्यालयबाट मुद्दा नचलाउने निर्णय भएकोमा महान्यायाधिवक्ता कार्यालयले भने मुद्दा चलाउनुपर्ने निर्णय लिएको हो ।




प्रतिक्रिया