काठमाडौँ, २३ वैशाख । प्रतिनिधिसभाको बैठकमा सांसद उपेन्द्र यादवले नीति तथा कार्यक्रम गरिब, किसान, निम्नवर्गका लागि सहयोग पुग्ने खालको हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र०८३ वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद यादवले देशलाई अगाडि बढाउनका आवश्यकपर्ने नीति तथा कार्यक्रम जरूरी भएको बताए ।
सांसद अब्दुल खानले जनताको चाहाना र आवश्यकताअुनसार नीति तथा कार्यक्रम आउनुपर्ने र एक वर्षमा के–के गर्न सकिन्छ भनेर जनतालाई सेवा दिने खालको हुनुपर्ने बताए ।
सांसद मोहनबहादुर बस्नेतले नीति तथा कार्यक्रम धेरै राम्रो आएको भए पनि योजनालाई प्राथमिकीकरण गरेर लैजानुपर्ने सुझाव दिए । उनले बर्षातको समयमा बाढी पहिरोले धेरै धनजनको नोक्सान पार्ने भएकाले सुरूमै त्यसको तयारीमा लाग्नुपर्ने बताए ।
सांसद भानुभक्त जोशीले नीति तथा कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तह मिलेर धेरै काम गर्ने भनेर लेखिएको भए पनि धेरै कानुन बनाउन नसक्दा समस्या परेको विषय ध्यान दिन सुझाव दिए ।
सांसद भगवती चौधरीले सामाजिक न्यायसहित नीति तथा कार्यक्रम आएको र योजनाको आवश्यकताको आधारमा प्राथमिकीकरण गरेर ल्याउनुपर्ने बताईन् ।
सांसद छिरिङ लामु लामा तामाङले सङ्घीयता सुदृढ बनाउने खालको नीति तथा कार्यक्रम बनाउनुपर्ने भएपनि ठोस योजना नआएको र ग्रामीण क्षेत्रका स्वास्थ्य क्षेत्रको स्वास्थ्य संस्था सुधार गर्ने विषयमा स्पष्ट नभएको भन्दै सरकारको ध्यानाकर्षण गराईन् ।
सांसद वीरबहादुर बलायरले ११ लाख मेट्रिक टन रासायनिक मल चाहिनेमा साढे तीन लाख ल्याउने गरेको हुँदा सबै मलको हाहाकार हुने देखिएकाले तीन अर्बमा कम्तीमा १० अर्बको प्राङ्गारिक मल तयार गर्न सुझाव दिए । उनले प्राङ्गारिक मल बनाउने धेरै तरिका भएको र त्यसले धेरै पैसा बचत तथा उत्पादन राम्रो हुने बताए ।
सांसद राजेन्द्रकुमार राईले पहाडी र हिमाली क्षेत्रमा सन्तुलन कायम गर्नुपर्ने जरूरी भएको र त्यहाँका जनतालाई त्यही ठाउँमा राख्नका लागि शिक्षा, स्वास्थ्य आदिको व्यवस्था गर्न आवश्यक भएको बताए । उनले धनकुटामा एउटा मेडिकल कलेज जरूरी भएको र त्यहाँ पढ्नेलाई त्यही व्यवस्था गर्नुपर्ने अन्यथा गाउँ रित्तिने जोखिम बढ्नेतर्फ ध्यानाकर्षण गराए ।
सांसद डिगबहादुर लिम्बूले नीति तथा कार्यक्रममा युवालाई स्वदेशमै बस्ने वातावरणको निर्माण गर्नुपर्ने र रोजगारीका लागि विदेश जाने वातावरणको सिर्जना गर्न नहुनेमा जोड दिए ।
सांसद तारा लामा तामाङले नीति तथा कार्यक्रम यर्थाथमा आधारित भएर आएको र कति वर्षमा काम गर्न सकिन्छ भनेर तय गरेर राखिएको र अनावश्यक संरचनालाई खारेज गर्ने तयारी राम्रो भएको बताए ।
सांसद मैना थापाले सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिँदै दुवै आयोगमा निस्पक्ष र विश्सनीय पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गरिन् ।
सांसद सीता मिजारले नैतिक, व्यवहारिक, प्राविधिक शिक्षा दिएर युवालाई रोजगार दिनुपर्ने विषयमा ध्यान दिनुपर्ने र रोजगारी दशक घोषणा गरेअनुसार नीति तथा कार्यक्रममा आउनुपर्नेमा जोड दिईन् ।
सांसद सूर्यप्रसाद ढकालले नीति तथा कार्यक्रम संविधानको मर्म र भावनाअनुसार आएको र बजेटले चालु खर्च कटौती गरेर पुँजीगत खर्च वृद्धि गर्ने दृष्टिकोणबाट अघि बढेको बताईन् ।
सांसद प्रतिमा गौतमले विकास आयोजनाका लागि छुट्टै कोषको स्थापना गर्ने भनिएको भए पनि अन्य चालु कोषको अवस्थाबारे सदनलाई जानकारी नभएको बताईन् । सबै नेपालीलाई खानेपानीको पहुँच पुर्याउने भन्ने नीति तथा कार्यक्रममा आउने तर धारामा पानी नआउने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराईन् ।
सांसद ऋषिकेस पोखरेलले विद्यालय शिक्षा बदल्नका लागि एउटै पाठ्यपुस्तक सरकारी तथा नीजि क्षेत्रको विद्यालयमा हुनुपर्ने र स्वास्थ्य क्षेत्रमा भएको विभेद पनि अन्त्य गरी एउटै बनाउनुपर्ने बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा जारी रहेको छ । थप छलफल आगामी बैठकमा हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २४ गते ११ बजे बस्नेछ ।




प्रतिक्रिया