भारतले आतंकवादविरुद्ध चाल्ने सबैखाले कदममा नेपालले साथ दिनुपर्छ : मनिष सुमन (भिडिओसहित)


काठमाडौं, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले सरकारले ल्याएको नीति तथा कार्यक्रम यथास्थितिमा पास गराउन आफूहरु बाध्य नहुने प्रतिक्रिया दिएका छन् । उनले भने,‘सरकारलाई समर्थन दिनु एउटा कुरा हो, तर नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्नु वा त्यसमा मतदान गर्नु अर्को कुरा हो । हामी यथास्थितिमा अहिलेको नीति तथा कार्यक्रमसँगै सती जाने छैनौं ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा भने आफूहरुले सोचिनसकेको स्पष्ट पारे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपा नेपालले विश्वास र आशाको आधारमा विश्वासको मत दिएको स्मरण गराए । तर, सरकारको यो १० महिना हेर्दा आशावादी हुन नसकेको उनको भनाई छ । त्यसको ज्वलन्त उदाहरण सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको आवाज नबोलेको र मधेशलाई अपेक्षा गरेको सुमनको आरोप छ।

पहलगाममा भएको आतंकवादी हमलाबारे नेपाल सरकारले निन्दा गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर भारतको कदममा नेपालको साथ रहने बताएको पनि उनले स्मरण गराए । पहलगाममा भएको आतंकवादी हमला मानवीयतालाई नै लज्जित गर्नेखालको घट्ना भएको उनको भनाई छ ।

उनले भारतले आतंकवाद चाल्ने कदममा नेपालको साथ हुनुपर्ने बताए । आतंकवादलाई जरैदेखि निर्मूल पार्न भारतले चालेको कदममा नेपालले साथ दिनुपर्ने उनले आफ्नो मत दोहोर्याए । उनले भने,‘आज आएर मैले सुनेअनुसार भारतले पाकिस्तान र पाकिस्तान अकुपाईड कश्मिरका विभिन्न ९ ठाउँमा राति सर्जिकल स्ट्राईक गरेर तीन जनाभन्दा बढि आतंककारीलाई मारेको छ, यसमा नेपाल सरकारले भारतलाई उच्चतम साथ दिइरहनुपर्दछ । हाम्रो पार्टीको पनि साथ र समर्थन रहनेछ । नेपाली जनताको पनि साथ रहनुपर्छ ।’