सरकार भागबण्डाको खेलमा लागेको चन्दा कार्कीको आरोप, सरकारलाई दिशाहीनको संज्ञा


काठमाडौं, २४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले सरकार भागबण्डाको खेलमा लाग्दा मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेकी छिन् । उनले नेपाल राष्ट्र बैंकको गभर्नर कसको भागमा पार्ने भनेर सरकार भागबण्डाको खेलमा लागेर सौदाबाजी गरिरहेको आरोप लगाईन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशको अर्थतन्त्र अहिले सही लयमा नहिँडेको पनि टिप्पणी गरिन् । महिनौंदेखि देशको वित्तिय नियामक निकाय नेतृत्वविहीन हुनु आँफैमा लज्जास्पद कुरा भएको उनको भनाई छ । त्यसमा भागबण्डाको चलखेल हुनु अर्को पीडादायी विषय भएको उनको भनाई छ । उनले गभर्नरको तत्काल नियुक्ती गर्न पनि माग गरिन् । उनले योग्यता, निश्पक्षता र पारदर्शीताको आधारमा गभर्नर नियुक्ती हुनुपर्ने सुझाव दिईन् ।

उनले अहिलेको सरकारलाई दिशाविहीनको संज्ञा दिईन् । उनले गठबन्धनको भागबण्डाले मुलुकको अर्थतन्त्रलाई जोखिममा पारेको दोहोर्याईन् । उनले भनिन्,‘यो दिशाहीन सरकार, निर्णयविहीन नेतृत्व र गभर्नरविहीन राष्ट्र बैंकले हामीलाई कता लैजाँदैछ भनेर म गम्भीर प्रश्न सरकारलाई सोध्न चाहन्छु ।’