मल, खाद्यको हाहाकार गराएर सरकारले किसानलाई तड्पाएको भन्दै प्रभु साहले उठाए संसदमा प्रश्न


काठमाडौं, २४ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले बाली लगाउने र विउ छर्ने बेलामा नै मल तथा खाद्यको हाहाकार भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले भने,‘अहिले मल, खाद्यको अभाव छ, हाहाकार छ, बाली लगाउने बेला, विउ छर्ने बेलामा नै किसानले मल पाएका छैनन् । मल पाएपनि दुईदेखि तीन गुणा महँगोमा पाएका छन् । त्यो पनि सरकारी निकायले दिने ठाउँमा होईन, पसलहरुमा पाइराखेका छन् । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु–यो मल खरिद र वितरणको जिम्मा तपाईंको हो कि होईन ? केन्द्रीय सरकारको हो कि होईन ? यदि हो भने किसानप्रति किन यसरी अन्याय गर्नुहुन्छ ?’ पूर्वमन्त्री साहले नेपालको मूल आयस्रोत भनेको नै कृषि क्षेत्र भएको उल्लेख गरे । तर, कृषि क्षेत्रमा नै विभेद गरिएको कुरा भने पीडादायी भएको उनको गुनासो छ ।

उनले भने,‘नेपालमा ३० लाख हेक्टर जग्गा, जहाँ ११ लाख मेट्रिक टन खाद्य चाहिन्छ, तर सरकारले पाँच लाख मेट्रिक टनको ठेग्गा गर्छ, तर त्यो पाँच लाख आयो त ? म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु । अहिलेसम्म तीन लाख मेट्रिक टन नेपाल आएको हामी सुनिराखेका छौं । आवश्यकत्ताभन्दा तीन गुणा कम उपलब्ध गराईएको छ । किसानलाई यसरी तड्पाएर मार्नुभन्दा बरु गला रेटेर मारेको भए राम्रो हुनेथियो नि ।’

किसानले आफ्नै पहलमा भारतबाट मल तथा खाद्य ल्याएपनि नेपालको सुरक्षाकर्मीले खोस्ने गरेको साहले सुनाए । उनले भने,‘म प्रहरीका बर्दीधारी र फुलीधारीलाई सोध्न चाहन्छु कि तपाईं योग्य भएर त्यहाँ अफिसर बन्नुभयो, जसले खाद्यको जिम्मा लिएको छ, त्यसलाई तपाईं सोध्न सक्नुहुन्न, जसले जिम्मा लिएको छ उसले दिँदैन, अनि त्यहाँ तपाईंहरुको कानून लाग्दैन ? म आईजिपीलाई सोध्न चाहन्छु । अनि एउटा अवोध र कमजोर किसानलाई लछारपछार गरेर खाद्य खोस्नुहुन्छ । कुन नैतिकताले खोसेको हो ?’