नीति तथा कार्यक्रम सापेक्षतामा आएको छ, सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनालाई अघि बढाउँछ : ऋषिकेश पोखरेल


काठमाडौं, २४ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम अहिलेको सापेक्षतामा आएको भन्दै स्वागत गरेका छन् । उनले भने,‘सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रम मूलतः आजको सापेक्षतामा आएको छ । प्रतिकुल आर्थिक परिस्थिति र सहकार्यको दिशानिर्देश गर्ने साझा विन्दु हो । यसले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनालाई अघि बढाउन चाहन्छ । जे सत्य हो, त्यसलाई अघि बढाउन भन्ने हिसाबले नीति तथा कार्यक्रम आएको छ ।’

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नीति तथा कार्यक्रमले विकास निर्माणको ढाँचा बदल्ने कुरा गरेको पनि स्मरण गराए । उनले भने,‘यसले अधुरा र अपूरा आयोजना पूरा गर्ने लक्ष्य लिएको छ । विद्यालय शिक्षालाई पूनःसंरचना गर्न खोजेको देखिन्छ । सुशासनलाई ख्याल गर्नेगरि आएको छ । स्वास्थ्य क्षेत्रलाई पनि महत्व दिएको छ । निरोगी नेपाल निर्माण गर्ने कुरा प्राथमिकतामा राखेको छ । कृषिलाई आत्मनिर्भर र व्यवसायिक बनाउने प्राथमिकतामा राखेको छ । स्वरोजगार, व्यवसायलाई र उद्योगलाई प्रश्रय गर्न स्टार्टअप कार्यक्रम ल्याएको छ ।’

उनले समग्रमा नीति तथा कार्यक्रम वस्तुपरक ढंगले आएको दाबी गरे । उनले सरकारले यथार्थपरक नीति तथा कार्यक्रम ल्याएको भन्दै यसले देशको बाटो हिँडाउने सिद्धान्त पेश गरेको दाबी पेश गरे ।

यस्तै, भारत र पाकिस्तानबीचको युद्धको प्रभावलाई ध्यान दिनुपर्ने भन्दै दुवै देशलाई शान्तिपूर्ण ढंगले र वार्ताबाट समाधान गर्न सुझाव दिए । उनले भने,‘हामी शान्तिका अग्रदूत हौं । वार्ता र सम्वादबाट हल गर्नुहोस भन्ने आग्रह हो । हाम्रो भूमि अरुलाई प्रयोग गर्न नदिने सन्तुलनको नीति छ ।’