नीति तथा कार्यक्रम कुहिरोमा हराएको काग र नुन खाएको भालेजस्तो छ : मेटमणि चौधरी


काठमाडौं, २४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीले नीति तथा कार्यक्रमलाई कुहिरोमा हराएको कागको संज्ञा दिए ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जुन प्रकारको कांग्रेस र एमालेको भन्नेबित्तिकै धेरै ठूलो संख्यामा रहेका महत्वपूर्ण पार्टीको सरकार बनेको छ, धेरै राम्रो र प्रभाव पार्ने नीति तथा कार्यक्रम आउनुपर्दथ्यो । अहिलेपनि २०७५ मा घोषणा गरिएको नीति तथा कार्यक्रमले निर्धारण गरेको लक्ष्य राखिएको छ । सुखी नेपाली, समृद्ध नेपालको कुरा गरेको छ । सरकारसँग कुनै कार्यक्रम छैन् । सरकार सञ्चालन गर्ने मान्छेसँग कुनै दृष्टिकोापनि भएन । यो नीति तथा कार्यक्रम कुहिरोमा हराएको कागजस्तै हो । भिजेलेको स्यालजस्तै, नून खाएको भालेजस्तै छ । कुनैपनि तितो, अमिलो, पिरो केही पनि छैन ।’

उनले दुई तिहाईभन्दा बढिको सरकार बनेको भएपनि सरकारको मुख्य नीति नै सडकमा देखिएको अराजक गतिविधि प्रतिवाद गर्ने भनेकोमा आलोचना गरे । उनले भने,‘यो त पूर्वको झापा जान्छु भनेर टिकट काट्ने अनि पश्चिमतिर मात्रै हुँईकिने काम भयो, प्रधानमन्त्री त ८ कक्षामात्रै पास गरेका छन्, यीनले लेख्न जान्दैनन् । ठीकै छ । तर, यो सरकारमा विज्ञहरु पनि छन ्नि । योसम्म चेत सरकारसँग भएन । यो नीति तथा कार्यक्रम कुनै योजनामा बनेको छैन् । यो नीति तथा कार्यक्रम निरन्तर आउने कुरा हो । परम्परा धान्नेमात्रै छ । ताई न तुईको छ । शासकसँग मुलुक बनाउने कुनै योजना छैन् ।’

उनले आफ्नो दल सरकार ढाल्ने खेलमा नलागेको बताए । तर, यो सरकार आँफै कुहिएर ढल्ने निश्चित् भैसकेको उनको दाबी छ । उनले भने,‘सरकार त ढाल्नै परेन । कांग्रेसजस्तो ठूलो पार्टीले सहयोग गरेको छ । दुई खामोलाई एउटा घाँसको जुईनोले बाँधेको छ । त्यो विस्तारै कुहिँदैछ । यो आँफै जान्छ । सरकार जति दिन टिक्छ, ओली दिनदिनै अलोकप्रिय भएका छन् । हामी सरकार ढाल्ने काममा लाग्दैनौं । लामो समयसम्म चलोस । काम नलाग्ने होस भन्ने हो ।’ उनले पनि भारतमा भएको आतंकवादी हमलाको निन्दा गरे । उनले दुनियाँको जुनसुकै देशमा भएपनि आतंकवाद बेठीक कुरा भएको भन्दै नेपालले सहयोग नगर्ने स्पष्ट पारे ।

कार्यक्रममा अर्थविद् डा. गोपीलाल न्यौपानेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले गरिव, किसान र गरिखाने वर्गको बारेमा नबोलेको टिप्पणी गरे । उनले भने,‘यसले जमिन दिने भनेको छैन, न मल दिनेगरि आएको छ, न सिचाईं, न टेक्नोलोजी, फार्मर्सको आपेन मार्केट दिन्छु भनेर लेखेको छैन् । जनताको पक्षमा, गरिबको पक्षमा, उद्योगपतिको पक्षमा एउटा सरकार पनि बनेन, अब बनाऔं ।’

यस्तै, अर्का अर्थविद् प्रा.डा. उमाशंकर प्रसादले नेपालमा विकासको गति धेरै सुस्त भएको टिप्पणी गरे । उनले विश्व आर्थिक विकासमा तिव्र गतिमा हिँडेको भएपनि नेपालको गति भने सुस्त भएको बताए । उनले भने,‘विश्व अलिक तिव्र गतिमा हिँडेको छ, हाम्रो देशको विकासको गति अलिक स्लो छ । यसलाई सच्याउनुपर्छ । हुन त विकास भयो । ५० वर्षमा एउटा तप्का धेरै अगाडि बढ्यो, तर बटममा भएको वर्गको विकास भएन । आजपनि मुसहरको साक्षरता बढेन । बटमलाई हेर्न सकिएन ।’

उनले देशमा शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्ने आवश्यकत्ता औंल्याए । यस्तै, कानूनी सेवालाई पनि निःशुल्क गर्न उनको प्रस्ताव छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा भागबण्डाको कारण ढिलाई भएको भन्दै सरकारको पनि उनले आलोचना गरे ।