काठमाडौं, २५ वैशाख । नेकपा (एमाले) का नेता एवं इटहरी उपमहगरपालिकाका पूर्व मेयर द्वारिकालाल चौधरीले तत्कालै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेको सम्झौताअनुसार नै सरकार अगाडि बढ्ने बताएका हुन् । कांग्रेस–एमालेबीचको सम्झौता कार्यान्वयन भएर भावी प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने उनको दाबी छ ।
पूर्व मेयर चौधरीले राजनीतिमा इमानदारिता पनि आवश्क पर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौताअनुसार सत्ता हस्तान्तरण गर्दा विश्वासको वातावरण बन्ने बताए । ‘अहिले तत्काल त म त्यो सम्भव देखिदनँ । भविष्यको कुरा, पछिको प्रधानमन्त्रीमा नजाऔं । सम्झौताअनुसार अहिलेका प्रधानमन्त्री केपी शर्मा अोलीले हस्तान्तरण गर्नुभयो भने शेरबहादुर देउवा बन्नुहोला,’– उनले भने ।
साथै, उनले नेपालमा अब राजसंस्था पुनर्स्थपानाको कुनै सम्भावना नरहेको बताए । विभिन्न गणतान्त्रिक देशहरुमा राजसंस्थाको माग भइरहेको बताउँदै उनले केही मानिसले चाहेर व्यवस्था परिवर्तन हुने बताए । उनले राजसंस्था इतिहासको गर्तमा डुबिसकेको दाबी गरे । ‘यहाँ मात्र होइन, दुनियाँका अरु मुलुकमा पनि राजतन्त्रको माग भइरहेको छ । तर, केही मानिसहरुले माग गर्दैमा त्यो सम्भव छैन । त्यो इतिहासको गर्तमा डुबिसक्यो,’– उनले भने ।
पूर्वमेयर चौधरी तत्कालीन समयमा एक पत्रकारलाई नाकको डाँडी भाँचिदिन्छु भनेर निकै चर्चामा आएका थिए । उक्त प्रसंगमा उनले आफूले रिसको बेला आवेगमा भनेको र अहिलेसम्म कसैको नाकको डाँडी नभाँचेको बताए । उनले आफू मेयर छदा स्टोरकिपरलाई भने एक मुक्का हानेको स्वीकार गरे । उनले भने, ‘मैले नाकको डाँडी चाहीँ भाँचेको छैन । तर, नगरपालिकामा चाहीँ भ्रष्टाचारमा संलग्नलाई मैले एक मुक्का हानेँ । स्टोरकिपर थियो, एक मुक्का हानेँ नै ।’




प्रतिक्रिया