काठमाडौं, २५ वैशाख । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिको सन्दर्भमा आजसम्म कुनै पनि लेनदेन भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेसम्म गभर्नर भएकाहरुले नियुक्तिका लागि कसैलाई पनि पैसा बुझाउन नपरेको दाबी गरे । उनले यस पटक भने पैसाको चलखेल हुन्छ वा हुँदैन भन्ने कुरा यसै भन्न नसकिने बताए । पूर्व गभर्नर नेपालले आफ्नो कार्यकाल सकिँदा नेपाल कम्युनिष्ट पार्टीको एकलौटी सरकार हुँदासमेत गभर्नर नियुक्तिका लागि २० दिन ढिला भएको बताए । अहिले कांग्रेस–एमालेबीच समझदारीमा हुनुपर्ने भएकाले यसलाई स्वभाविक पनि मान्न सकिने बताए ।
‘अहिले आफ्नो मान्छे छान्न खोजिरहेका छन् । पैसाको चलखेल त मलाई के थाहा ? यत्रो लामो समयसम्म नभएको हुनाले आफ्नो मान्छे खोज्न चाहीँ समय लागेको जस्तो देख्छु मैले । यो भन्दा अगाडि नेपाल कम्युनिष्ट पार्टीकै सरकार थियो । अहिलेका प्रधानमन्त्री नै त्यतिबेला पनि प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यो हुँदा त २० दिन लाग्यो । जबकी मैले २०७६ चैतको ४ गते मेरो अवधि सकिएको २४ गते नियुक्ति भएको हो । त्यसले गर्दा त्यतिबेला लाग्यो । अहिले झन दुईवटा पार्टी सरसल्लाह गरेर ल्याउने होला,’– उनले भने ।
साथै, यस पटकको गभर्नर कांग्रेसको भागमा परेको भन्ने आफूले जानकारी पाएको बताए । ‘यस पटकको गभर्नर कांग्रेसले पाउने भयो भन्ने सुनेको हो । नेताज्यूहरुबाट त्यही सुनेको हो । कांग्रेसले राम्रो मान्छेलाई बनाउला । अहिले आइरहेका नामहरु नै छन् । गुणकरजीको नाम आइरहेको छ, ज्ञानेन्द्र ढुङ्गानाको नाम आएको छ । उहाँहरु दुवैले राम्रो चलाउन सक्नुहुन्छ । दुई जनामा एक होला भन्ने म विश्वास गर्छु,’– उनले भने । File Photo/RN




प्रतिक्रिया