काठमाडौं, २५ वैशाख । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले आतङ्कवादी हमलाविरुद्ध भारतले चालेको कदमलाई स्वभाविक भनेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले आतङ्कवाद विश्वको साझा समस्या रहेको र सबैले यसको डटेर सामना गर्नुपर्ने बताए । अध्यक्ष यादवले आफ्नो पार्टी आतङ्कवादको विपक्षमा रहेको सरकारले पनि यस बारेमा बोल्नुपर्ने बताए ।
‘आतङ्कवादी हमलाविरुद्ध भारतले उठाएको कदम स्वभाविक हो । आतङ्कवाद विश्वको साझा समस्या हो । भारतले त्यसकोविरुद्ध गतिविधि बढाएको छ । त्यसमा हाम्रो पार्टीको मात्रै होइन, नेपाल सरकारले पनि बोल्नुपर्छ । हाम्रो पार्टीले साथ दिन स्वभाविक हो । हामी चाहन्छौं, दुनियाँमा आतङ्कवादी गतिविधि बन्द होस्,’– उनले भने ।
साथै, उनले आतङ्कवादी गतिविधिविरुद्ध नेपाल सरकारले पनि आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए । नेता यादवले नेपालको भूमिबाट भारतमा कुनै पनि प्रकारको आतङ्कवादी गतिविधि हुन नहुने र त्यसलाई नियन्त्रण गर्नेबारे विश्वास दिलाउन सक्नुपर्ने बताए । ‘नेपालको भूमि कसैको विरुद्धमा पनि प्रयोग हुन हुँदैन । नेपाल पञ्चशीलको सिद्धान्तको आधारमा चल्नुपर्छ । यस्तो विषयहरुमा सीमानामा सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ,’– उनले भने ।




प्रतिक्रिया