काठमाडौं, २५ वैशाख । राजनीतिक विश्लेषक प्रा.डा.लोकराज बरालले नेपाल आतङ्कवादको विरुद्धमा उभिनुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल आतङ्कवादको विपक्षमा उभिँदै तटस्थ भूमिकामा रहनुपर्ने बताए ।
‘आतङ्कवादविरुद्धको लडाइमा हामीहरु एक हुन्छौं । नेपालले भनेकै छ,’– उनले भने, ‘नेपाल सरकारको भूमिका आतङ्कवादविरुद्ध हाम्रो अडान छ, प्रतिवद्धता छ र आतङ्कवाद कहीँ पनि हुन हुँदैन भन्ने हो । हामी तटस्थ नै हुनुपर्छ । तर, आतङ्कवादको विरुद्धमा चाहीँ हामीले विरोध गरेका छौं । त्यही कुरालाई अबलम्बन गर्नुपर्छ ।’
साथै, उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सान्दर्भिकता नै नरहेको बताए । भारत र पाकिस्तानबीच द्वन्द्व चर्किरहेको बेलामा अब सार्कको कुनै पनि गतिविधि हुन नसक्ने उनको भनाइ छ । संयुक्त राष्ट्रसंघले समेत द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न नसकिइरहेको अवस्थामा सार्कले भारत–पाकिस्ताबीचको द्वन्द्व समाधान गर्न सक्छ भनेर विश्वास गर्न नसकिने उनले बताए ।
‘सार्कको रिलेभेन्ट नै छैन । कति वर्ष भइसक्यो, हामीले सार्क भन्ने मात्रै हो । केही भएको छैन । पाकिस्तानको झनझन चर्किरहेको छ । त्यसले गर्दा सार्क विथोलिएको छ । भारत र पाकिस्तानको कुरा नमिलुन्जेलसम्म, सौहार्दता कायम नहुन्जेलसम्म त्यो सम्भव पनि छैन । सार्क भन्ने सम्भव पनि छैन । संयुक्त राष्ट्रसंघले त कुनै पनि समस्या समाधान गर्न, शान्ति कायम गर्न सकिराखेको छैन भने सार्कको कुरा त छाड्दिउँ अहिले,’– उनले भने ।
राजनीतिक विश्लेष बरालले भारत र पाकिस्तानबीच द्वन्द्व चलिरहेको बेलामा पाकिस्तानी सेनाहरुलाई नेपाल बोलाएर सरकारले गलत गरेको बताए । द्वन्द्व चर्किरहेको बेलामामा पाकिस्तानी सेनलालाई नेपालमा आउन दिएर कुटनीतिक रुपमा ठीक नगरिएको उनले बताए । पाकिस्तानी सेनाको डेलिगेसन सराज मन्सुर अन्सारी नेतृत्वमा नेपाल आएको बताइएको छ ।




प्रतिक्रिया