गृहमन्त्री लेखकको चेतावनी : सविधानविरोधी गतिविधि सह्य हुँदैन


काठमाडौं, २५ बैशाख । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि नगर्न चेतावनी दिएका छन् । संविधानविरोधी गतिविधि गरे सरकार कडा रुपमा प्रस्तुत हुने भन्दै उनले राजावादीलाई लक्षित गरेर चेतावनी दिए । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तिनकुनेमा भएको गत चैत्र १५ गतेको घट्नाको विषयमा अनुसन्धान जारी रहेको पनि जानकारी गराए ।

उनले सरकारले कसैप्रतिपनि पूवाग्रह नराखेको स्पष्ट पारे । उनले भने, ‘त्यो घटना विध्वंशात्मक र संविधान विरोधी थियो। अहिलेको व्यवस्थाका विरुद्धमा थियो। संविधान विरोध अराजक गतिविधिलाई कानूनको दायरामा ल्याइ नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अधिकारको निर्वाध उपयोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध छ।’ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्राउ प्रकरणमा पनि सरकारले पूवाग्रह नराखेको उनको स्पष्टोक्ति थियो ।