माओवादीको परिबन्धमा परेर अमेरिका गएको थिएँ, देशमै केही गर्छु भनेर नेपाल फर्किएको छुः रमा सिंह (भिडिओसहित)


काठमाडौं, २७ वैशाख । पूर्व पत्रकार एवं राजसंस्था पुनर्स्थापना आन्दोलनकी अभियनता रमा सिंहले आफू तत्कालीन विद्रोही माओवादीको परिबन्धमा परेर अमेरिका पलायन हुनुपरेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन विद्रोही माओवादीले आफ्नी छोरीलाई दुई पटक किड्न्यापको प्रयास गरेपछि अमेरिका गएको बताएकी हुन् । उनले आफूलाई नेपालको माया रहेको र अमेरिकाको नागरिकतासमेत नलिएको बताईन् ।

‘मलाई नेपालको माया छ । नेपालको माया र ममताले तानेर ल्याउने मान्छेले अमेरिकाको नागरिकता लिएर बस्छ ? मेरो चाहनाले म अमेरिका गएको होइन । म नेपालमै स्थापित भइसकेकको पत्रकार थिएँ । मेरो नेपालमा आफ्नै बन्द व्यापार पनि थियो, त्यो तपाईलाई पनि थाहा छ । मेरो छोरीलाई तत्कालीन आतङ्ककारी माओवादीले २ चोटी किड्न्याप गर्न खोजेपछि म छोरीको ज्यान बचाउनका लागि अमेरिकका पलायन भएको हो । सधैंको लागि गएको होइन,’– उनले भने ।

उनले अहिले आफू फोहोरी राजनीतिबाट देशलाई मुक्त गराउने अभियानमा रहेको बताईन् । नेपालमा गणतन्त्र अन्तिम घडीमा रहेको उनको चेतावनी छ । उनले नेपालको राजसंस्था जनताले नफालेको दाबी गरिन् । ‘यही बेथिति, विसंगति र भ्रष्टाचारीहरुलाई तह लगाउनका लागि जनताले नै आह्वान गरेर राजा फेरि आउँछन्,’– उनले भनिन् ।